सुनको मूल्यमा नयाँ कीर्तिमान

बालकृष्ण खाँणलगायतको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ ।   नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतले दायर गरेको रिटमा  आज  मंगलबारबाट पाटन उच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ ।

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध खाँणसहित १६ जनाले संयुक्त  निवेदन दिएका थिए। यसअघि पटक–पटक पेसीमा चढे पनि यो मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।  

यो मुद्दामा पक्राउ परेका १९ जनामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । तर तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको थियो ।

अभियुक्तहरुविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, सङ्गठित अपराध तथा ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा गत असार १ गते काठमाडौँ  जिल्ला अदालतले अभियुक्तहरूलाई थुनामा पठाउन आदेश गरेको थियो ।

उक्त प्रकरणमा भूतपूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वसचिव पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामा छन् । 

यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राईलगायत पनि थुनामा छन् ।

सो प्रकरणमा रहेका अन्य व्यक्तिहरु भने फरारको सूचीमा रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ५१ बजे