डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सात दिनपछि युवतीको शव उत्खनन

सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–११, बालगङ्गा मुस्लिम बस्तीमा सात दिनअघि गाडिएको युवतीको शव आइतबार प्रहरीले उत्खनन गरेर निकालेको छ । प्रहरीले खाल्डोबाट शव निकालेर परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको हो । स्थानीय १७ वर्षीया तबसुन खातुनको कात्तिक २६ गते भएको मृत्यु शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ। 

प्रारम्भिक अनुसन्धानमा खातुनको मृत्यु शङ्कास्पद देखिएपछि एक साताअघि गाडिएको शव उत्खनन गरी परीक्षणका लागि अस्पताल लगिएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो । “युवतीको मृत्युबारे परिवारका सदस्यसँग सोधखोज गर्दा कुरा फेरिरहेका छन्,” प्रहरी उपरीक्षक धितालले गोरखापत्रसँग भन्नुभयो, “उनीहरु पेट दुखेर मृत्यु भयो भन्छन् तर हामीलाई यो कुरामा शङ्का छ ।” 

मृत्युको कारण पत्ता लगाउन नै शव उत्खनन गरेर पोष्टमार्टम गर्न लागिएको प्रहरी उपरीक्षक धितालले बताउनुभयो । “पोष्टमार्टम रिपोर्ट आएपछि प्राकृतिक मृत्यु वा हत्या के हो ? त्यो प्रष्ट भई नै हाल्छ,” एसपी धितालले भन्नुभयो । 

प्रहरीले शनिबार नै मृतक युवतीको शव उत्खनन गर्ने प्रयास गरेको थियो तर मुस्लिम समुदायका धार्मिक अगुवाले यो आफूहरुको धर्मसँग जोडिएको विषय समेत भएकाले सरसल्लाहका लागि आइतबार बिहानसम्मको समय दिन आग्रह गरेका थिए । आइतबार बिहान धार्मिक अगुवा तथा स्थानीय समेतलाई सम्झाइबुझाई गरी प्रहरीले खातुनको शव मुस्लिम समुदायको दाहसंस्कार गर्ने ठाउँ (कब्रस्थान) को खाल्डोबाट निकालेर परीक्षणका लागि सदरमुकाम मलङ्गवा लगेको हो । 

प्रादेशिक अस्पतालमा हुने पोष्टमार्टमबाट आत्महत्यासम्मको रिपोर्ट आउने र अस्पतालमा परीक्षण गर्दा आत्महत्या जस्तो नदेखिए भिसेरा परीक्षणका लागि मुटु, कलेजो र फोक्सोको टुक्रा काठमाडौं पठाइने प्रहरी उपरीक्षक धितालको भनाइ छ । प्रहरीले यस घटनाको अनुसन्धानका लागि मृतक युवतीकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक धितालको भनाइ छ । मृतक खातुनका बुवा सेख इर्साद र सौतेनी आमाकी पहिलेका श्रीमानतर्फको छोरा सेख चाँदे फरार छन् । प्रहरीले फरार रहेका बाबु र छोरा दुवैको खोजी जारी राखेकाे छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ३ : ४४ बजे