डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

नेपालमा ३ लाख १ हजार ४९० परिवारसँग छैन शौचालय

काठमाडौं । आज १९ नोभेम्बर। अर्थात् विश्व शौचालय दिवस। नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ।

नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ।
यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको हाे।

हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रमकासाथ शौचालय दिवस मनाउने गरिएको छ। सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो।

बढ्दो सहरीकरण र सार्वजनिक खुला स्थानको अभावले शहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौति बढेर गएको छ।

मानव समुदायलाई मानवजन्य दिसापिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगव्याधीबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसंघले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो।

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ। दिगो विकास लक्ष्यको छैटौं लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ।

तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्‍याउने प्रगति भने सुस्त गतिमा छ। यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसंघले यस वर्षको नारा तय गरेको हो।

राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन्। त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाब गर्छन्।

खुला दिसापिसावका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ।

सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ७ वर्षमात्र बाँकी छ। नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा गरेको थियो।

नेपालमा शौचालय प्रयोग गर्नेहरूको संख्या

वि.सं. २०७८ को जनगणनाअनुसार नेपालमा शौचालय प्रयोग गर्ने परिवारमा ९.८ प्रतिशत परिवारले फ्लस भएको (सार्वजनिक ढल) को प्रयोग गर्ने गर्दछन्। यो परिवार संख्या ६ लाख ५३ हजार ७१० रहेको छ।

फ्लस (सेफ्टिक ट्यांकी) भएको शौचालय प्रयोग गर्नेको संख्या सबैभन्दा बढी ५५.१ प्रतिशत रहेको छ। अर्थात यो संख्या ३६ लाख ६७ हजार ७८० हो।

त्यस्तै साधारण शौचालयको प्रयोग गर्नेको संख्या २० लाख ५ हजार ४८० रहेको छ। यो प्रतिशतमा हेर्दा ३०.१ रहेको छ।

त्यस्तै, सार्वजनिक शौचालय प्रयोग गर्नेको प्रतिशत ०.५ रहेको छ। यो संख्या ३२ हजार ३८१ हो। त्यस्तै, शौचालय नहुनेको संख्या नेपालमा ४.५ प्रतिशत अर्थात ३ लाख १ हजार ४९० रहेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १२ : २६ बजे