डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको मृत्यु

जाजरकोट । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । 

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।

डुमे दमका दीर्घरोगी पनि हुनुहुन्थ्यो । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको कारण उहाँको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उहाँको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताउनुभयो ।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । 

यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चार जना दीर्घरोगीको ज्यान गएको थियो । एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : १७ बजे