सुनको मूल्यमा नयाँ कीर्तिमान

लप्सीफेदीमा स्थानीयवासी र सुरक्षाकर्मीबीच लफडा :१४ जना पक्राउ (UPDATE)

काठमाडौं ।  काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रणजित तामाङसहित १० जना पक्राउ परेका छन् । शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए ।

काठमाण्डौको शङ्खरापुर नगरपालिका-३ लप्सीफेदी क्षेत्रमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न गएका सुरक्षाकर्मीमाथि स्थानीयबासिन्दाले ढुङ्गामुढा गरेका थिए ।

शुक्रवार बेस क्याम्प स्थापना गर्न जाँदा त्यस क्षेत्रका केही स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीलाई ढुङ्गामुढा गरेका हुन् । स्थानीयकाे आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भएका छन् । 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पटकपटक वार्ता र संवाद गरिए पनि सहमति नभएपछि सरकारले काठमाण्डाैको शङ्खरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रमा निर्माणाधीन सबस्टेसन र प्रसारण लाइन निर्माणको सुरक्षार्थ प्रहरी पोष्ट राख्ने निर्णय गरेको थियाे । 

जिल्ला सुरक्षा समिति, काठमाण्डाैको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जा सचिव दिनेशकुमार घिमिरेलगायत मन्त्रालयका उच्च अधिकारीले पटकपटक जायज माग पूरा गर्ने र सबस्टेसन र प्रसारण लाइन निर्माणका लागि सहमति जनाउन आग्रह गर्नुभएको थियो । स्थानीयवासी र उनीहरूका प्रतिनिधिलाई वार्तामा सहभागी भए पनि कुनै पनि विषयमा सहमति जनाउन अटेर गरेको मन्त्रालयको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले शङ्खरापुर नगरपालिका–३ मा रहेकाे बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाण्डाै उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००-२२०-१३-११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।

सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीका करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी त्यही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिवापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ । 

प्रभावित जग्गाधनीभन्दा पनि असम्बन्धित व्यक्तिहरूले विगत तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नुपर्ने माग राख्दै एक गैरसरकारी संस्थाको ब्यानरमा त्यस क्षेत्रमा प्रदर्शन हुँदै आएको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको तर केही गैर सरकारी संस्था र असम्बन्धित व्यक्तिहरूका उक्साहटका कारण सबस्टेसन निर्माणको विरोध भइरहेको जानकारी दिनुभयो । सबस्टेसन निर्माणमा त्यहाँका स्थानीयले भने सहयोग गरिरहेको घिसिङले बताउनुभयो ।
 
कार्यकारी निर्देशक घिसिङले लप्सीफेदीसम्म विद्युत् ल्याउन प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको र यदि सबस्टेसन निर्माण गर्न नसकिएमा याे विद्युत् प्रवाह गर्न नसकी काठमाण्डाै उपत्यकामा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो ।
 
सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भइ सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा छ ।
 
प्राधिकरणले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको र उपलब्ध विकल्पमध्ये अहिले छनोट गरिएको ठाउँ नै सबैभन्दा उत्तम रहेकाले सबस्टसेन अन्यत्र सार्न नसकिने प्रष्ट पार्दै आएको छ । जग्गाधनीहरूले छिटो मुआब्जा चाहियो भन्दै राजीखुसीले रकम बुझेका थिए । 
 
नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋण सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।

नयाँ खिम्ती–काठमाण्डाै ४०० केभी तथा लम्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन र चार वटा सबस्टेसन गरी अनुमानित लागत करिब १८ अर्ब रुपैयाँ रहेको छ । लप्सीफेदी र चाँगुनारायण सबस्टेसन निर्माणका लागि पहिलो ठेक्का सम्झौता २८ मङ्सिर २०७४मा भएको थियो । ठेकेदारले लप्सीफेदी सबस्टेसन निर्माणका लागि एक वर्ष काम गरेको थियो । तर, ठेकेदारको काम सन्तोषजनक नभएपछि ठेक्का तोडी ४ मङ्सिर २०७७ नयाँ ठेक्का लगाइएको थियो । 

पहिलो ठेकेदारले काम गर्दा लप्सीफेदीमा कुनै विरोध भएको थिएन । तर, दोस्रो ठेकेदार काम गर्न गएपछि काममा अवरोध भइरहेको छ । अवरोधका कारण अहिलेसम्म सबस्टेसन निर्माणस्थलमा कुनै पनि कार्य प्रगति हुन सकेको छैन ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १ : ३६ बजे