सुनको मूल्यमा नयाँ कीर्तिमान

टिकटकमाथिको प्रतिबन्ध खुलाउन सर्वोच्चमा ६ वटा रिट,सोमबारदेखि सुनुवाइ

काठमाडौँ । टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पहिलो पेशी तोकेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमबारका लागि पेशी तोकिएको हो ।

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि अदालत खुलेको पहिलो दिनमा नै सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनुवाइ गर्नका लागि मंसिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जनाएको छ ।

भोलि शनिबार तथा पर्सी छठ पुजाको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।

सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।

अहिलेसम्म सर्वोच्चमा ६ वटा रिट निवेदनहरू पेश भएको जनाएको छ ।

गत २७ गते कात्तिकको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि जनआक्रोश बढिरहेको बेला यो रिट परेको हो । देश र समाजमा विसंगति, विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्नु परेको सरकारको तर्क छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १ : ५९ बजे