दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आज विश्वकपको पहिलो सेमिफाइनल : भारत र न्युजिल्याण्ड भिड्दै

काठमाडौँ  । एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेल आज भारतको मुम्बईमा हुँदैछ । खेल तालिकाको शीर्ष स्थानमा रहेको भारत र २०१९ को उपविजेता न्युजिल्याण्डबीच पहिलो सेमिफाइनल खेल  हुनेछ । वानखेडे रंगशालामा दिउँसो सवा २ बजे सुरु हुने खेलको दिउँसो १ः४५ बजे टस हुनेछ ।

टीम इन्डियाले आठौं पटक एकदिवसीय विश्वकपको सेमिफाइनल खेल्नेछ भने न्युजिल्यान्डले नवौं पटक खेल्नेछ । प्रतियोगितामा दुवै टोली लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्दैछन् ।

२०१९ मा पनि भारतलाई विश्वकप जित्ने बलियो दावेदार मानिन्थ्यो तर सेमिफाइनलमा न्युजिल्याण्डसँग १८ रनले पराजित भएपछि टोली बाहिरिएको थियो ।

दुई पटकको विश्व च्याम्पियन भारतीय टोलीले यस विश्वकपको लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ । टोलीले हरेक क्षेत्रमा आफूलाई प्रमाणित गरेको छ । भारत लिग चरणमा सबै ९ खेल जितेर तालिकाको शीर्ष स्थानमा रह्यो । टोलीले पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलियालाई पराजित गर्दै प्रतियोगिताको सुरुवात गरेको थियो ।

गत विश्वकपको उपविजेता न्युजिल्याण्डले यस विश्वकपमा उत्कृष्ट सुरुवात गरेको थियो । टोलीले प्रतियोगिताको पहिलो खेलमा साविक विजेता इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो । यसपछि टोलीले बंगलादेश, अफगानिस्तान र नेदरल्याण्ड्सलाई पनि हराएको थियो ।

लगातार ४ जितपछि न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा थियो तर यहाँबाट भने टोलीले लगातार ४ हार बेहोरेको थियो । भारत, अष्ट्रेलिया, दक्षिण अफ्रिका र पाकिस्तानसँग पराजित भएको थियो । लिग चरणको अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै टोली सेमिफाइनलमा स्थान बनायो । टोलीले ९ मध्ये ५ खेल जितेर अंक तालिकाको ४ नम्बरमा रहेर नकआउटमा प्रवेश गरेको हो ।

भारत र न्युजिल्याण्डबीच हालसम्म कुल ११७ ओडीआई खेलिएको छ । भारतले ५९ खेल जितेको छ भने न्युजिल्यान्डले ५० खेल जितेको छ । ७ खेल अनिर्णित रह्यो भने एक खेल टाईमा सकियो ।

दुबै टोलीका सम्भावित सुरुवाती-११
भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी र मोहम्मद सिराज ।

न्युजिल्याण्ड: केन विलियमसन (कप्तान), रचिन रविन्द्र, डेभोन कोनवे, डेरिल मिचेल, टम लाथम (विकेटकिपर), ग्लेन फिलिप्स, मार्क च्यापम्यान, मिचेल सान्टनर, लोकी फर्ग्युसन, टिम साउथी र ट्रेन्ट बोल्ट ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ८ : ०१ बजे