दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कोरला नाका आजदेखि दुवैतर्फ सञ्चालनमा आउँने

काठमाडौँ – मुस्ताङको कोरला नाका आजदेखि दुवैतर्फ सञ्चालनमा आउँदैछ । माथिल्लो मुस्ताङका दुई स्थानीय तहहरुलाई लक्षित गरी आज दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाकाको उद्घाटन गर्ने लागेका हुन् । 

चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षित गरी नाका सञ्चालन गर्न लागेको हो । चिनियाँ पक्षले कोरला नाकामा निर्यातका लागि सामग्रीहरू समेत ल्याएका छन् ।

चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट  (विओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरुको अनुरोधमा अस्थायी संरचना निर्माणका लागि चीन सरकारले पाँचवटा कन्टेनर उपलब्ध गराएको छ ।

नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको छ । नाकामा आवतजावतका लागि एक महिनाअघि अनुमतिपत्र वितरण गरिएको छ । अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधरणहरु कोरला नाकामा आवतजावत गर्न पाउने छन् । 

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रवेश अनुमतिपत्रका आधारमा कोरला नाकादेखि ३० किलोमिटर चीनको भू–भागसम्म पुगेर जुनसुकै समयमा व्यावसायिक कारोबार गर्न पाउने बताउनुभयो ।

कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुला हुन लागेको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको जनजीवन प्रभावित हुँदै आएको थियो । यसअघि कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । नाका सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङका सर्वसाधरणहरुले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलोक्ट्रोनिक सामग्री, लत्ताकपडालगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बाको निर्यात हुने बताइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : ०४ बजे