चिहानबाट के के उठेर आउँछ ?

अहिले देशको राजनीतिमा विचित्रका अभिव्यक्तिहरू आईरहेका छन्। प्रधानमन्त्री प्रचण्ड भन्दैछन्, “जनयुद्धलाई कसैले दबाउन सक्दैन्, चिहानबाट फेरि उठ्छ।” त्यस्तै पूर्व प्राविधिक राजा ज्ञानेन्द्र शाह चिहानमा पुगेको राजतन्त्र फर्काउन राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रहरूमाथि लगानी गरिरहेका छन्। कति सम्भव, कति असम्भव? चर्चाको विषय बनाउनु आवश्यक नै छैन् किनभने लोकतान्त्रिक गणतन्त्रमा यो सान्दर्भिक विषय हुनै सक्दैन्।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विश्वरसिंह मेवाहाङ लेख्छन्, “जनयुद्ध चिहानबाट फेरि उठ्छ – प्रधानमन्त्री प्रचण्ड, यसको मतलब जनयुद्ध चिहानमा पुगिसक्यो। जनयुद्ध चिहानमा पुर्याउने काम कसले गर्यो? यो पनि व्याख्या गरिदिए नेपाली जनता प्रष्ट हुने थिए।”

नेपालको राजनीतिमा न चिहानबाट राजतन्त्र पुनर्जीवित हुनेवाला छ, न त जनयुद्धका चिन्तनले फेरि राजनीतिक आकार लिनेछ। राजावादी हुन् कि जनयुद्धवादी, नेपालको राजनीतिमा यी दुबै पक्ष फेरि स्थापित हुन्छ भन्नु मसानघाटमा जलाउन ठीक्क पारेको लास पुनः जीवित हुन्छ भन्नु जस्तै हुन्छ। हामीले बुझ्नुपर्छ र जनतालाई बुझाउनु पर्छ, ज्ञानेन्द्र शाह र प्रचण्डहरू देशको समस्या हुन् नकि देशको आवश्यकता र सम्भावना। हुन् त राजनीतिमा असम्भव भन्ने केही कुरा हुँदैन् भनिन्छ। तर २१औं शताब्दीमा कुनै पनि निरूङ्कुशतावादी विचार र व्यवहार चल्नेवाला छैन्।

 

नवउदारवादले लोकतन्त्र र देश जोगाउँछ, उपयोगितावादले लोकतान्त्रिक गणतन्त्र बलियो बनाउँछ र लोकप्रियतावादले संविधान र लोकतन्त्र जोगाउँछ  अनि राजतन्त्रवादीबाट देशको रक्षा हुन्छ भन्नु र विश्वास गर्नु हाम्रो मूर्खता हो किनभने यी सबै नेपालमा नियन्त्रित अस्थिरता बढाउन सहयोगी भइरहेका छन्।

 

​​​​​​​

नवउदारवादले लोकतन्त्र र देश जोगाउँछ, उपयोगितावादले लोकतान्त्रिक गणतन्त्र बलियो बनाउँछ र लोकप्रियतावादले संविधान र लोकतन्त्र जोगाउँछ  अनि राजतन्त्रवादीबाट देशको रक्षा हुन्छ भन्नु र विश्वास गर्नु हाम्रो मूर्खता हो किनभने यी सबै नेपालमा नियन्त्रित अस्थिरता बढाउन सहयोगी भइरहेका छन्।

राजनीतिमा मुख्य कुरो व्यक्तिको सोच र आचरण हो, उमेर प्रधान होइन। तर नवउदारवाद, उपयोगितावाद, लोकप्रियतावाद र राजतन्त्रवाद मिलेर भन्न्दैछन्, पुरानाजति बेठीक नयाँ सबै ठीक। यस भाष्यको मुख्य उद्देश्य परिपूर्ण लोकतन्त्रवादी राजनीतिलाई कमजोर बनाएर देशमा नियन्त्रित अस्थिरता कायम गरेर बाह्य स्वार्थ पूरा गर्नु हो। तर जनमन भ्रमित बनाउन हिजोआज कपालमा जेल लगाएर जनतालाई भ्रमित बनाउन भावनात्मक रूपमा भड्काउँदै आफ्नो खराब विगत र नियतमाथि जनताले प्रश्न नउठाउन भन्ने उद्देश्यका क्रियाशील भइरहेका छन्। यस्ता पात्रलाई असल ठान्नु र आदर्श मान्नु भनेको अन्ततोगत्वा आफ्नो भविष्य अन्धकार बनाउनु हो। त्यसैले हामीले विचार बनाउँदा र आफ्ना प्रतिनिधि छान्दा नयाँ कि पुरानो, युवा कि प्रौढ भन्ने प्रश्नमा अलमलिएर होइन, विचार, नीति र नियत हेरेर असल र खराब छुट्याउनु पर्छ।

यतिबेला जनताले बुझ्नुपर्छ, “परिपूर्ण लोकतन्त्रको पक्षमा कुन राजनीतिक विचार र दल नजिक छ अनि देश समृद्ध बनाउन शिक्षाको भूमिका के हुन्छ? बुझेर मात्र राजनीतिक धारणा बनाउनु पर्छ।” जनतामा यो क्षमता विकास गर्न नसक्दासम्म भ्रमको राजनीतिले आफूलाई बलशाली र लोकप्रिय ठानिरहन्छ। अहिले नेपालमा त्यही भइरहेको छ। त्यसैले “सबैका लागि गुणस्तरीय शिक्षा मुख्य राजनीतिक मुद्दा बन्नुपर्छ अन्यथा समृद्ध नेपाल सुखी नेपाली बनाउन अर्थात दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्न। यसका लागि परिपूर्ण लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक नेतृत्वहरूमा शिक्षा व्यवस्थामा आमूल सुधार गर्ने इच्छशक्तिसहित नीतिहरू बनाउने र त्यसको प्रभावकारी कार्यान्वयनमा इमान्दार प्रतिबद्धता पनि हुनुपर्छ। यो नै समयको माग हो।”

तर जनतालाई मूल मुद्दामा केन्द्रीत हुन नदिन यतिबेला नवउदारवादी र उपयोगितावादी मिलेर कम्फर्टेबल गठबन्धन बनाएर प्रचण्डको नेतृत्वमा कम्फर्टेबल सरकार चलाउँदै छन् भने लोकप्रियतावादी र राजतन्त्रवादीहरू अघोषित कार्यएकताका साथ लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउन पुरानाजति बेठीक नयाँजति ठीक अनि गणतन्त्रकाल भन्दा राजतन्त्रकाल नै उत्तम थियो भन्ने गलत भाष्य स्थापित गर्न सदन, सडक, सञ्जाल र सञ्चारमा सक्रिय भइरहेका छन्।

त्यसैले यस सन्दर्भमा आशिष रेग्मीको भनाई बढी सान्दर्भिक देखिन्छ। उनी लेख्छन्, “जनतामा निहित सर्वभौमसत्ता, संघीयता, लोकतान्त्रिक, गणतन्त्रात्मक र बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धा सहितको धर्मनिरपेक्ष देश उल्लेखित संविधान साच्चै नै आजको आवश्यता पूरा गर्न अब्बल छ। कार्यगत व्यावहारिक अप्ठ्यारो चिर्न संविधान बाधक छैन्।” त्यसैले हामीले बुझ्नुपर्छ, “देश राम्रो बनाउन राजनैतिक तथा संवैधानिक स्थिरता र गतिशीलता चाहिन्छ, नकि चिहानबाट जनयुद्ध उठ्नु पर्छ न त चिहानमा पुगेको राजतन्त्र व्युँताउनु पर्छ।” यसका लागि त हाम्रो मनस्थिति सकारात्मक र रचनात्मक अनि व्यवहार र अभ्यास प्रगतिउन्मुख बन्नुपर्छ। विधिमा चल्ने बानी बसाल्नु पर्छ। देशभित्रै कार्यशील हुने संस्कृति विकास गर्नुपर्छ।

 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ५ : १० बजे