दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गाजा युद्धमा यूएनआरडब्लुएका १०० भन्दा बढी कर्मचारीको मृत्यु

जेनेभा – प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको बताउनुभएको छ ।

शुक्रवार  “यूएनआरडब्लूएका अभिभावक, शिक्षक, नर्स, चिकित्सक, सहयोगी कर्मचारी गरी १०० भन्दा बढी सहकर्मी एक महिनामा मारिएको पुष्टि भएको छ,” युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले ट्वीटरमा लेख्नुभएको छ । 

“यूएनआरडब्ल्यूए शोकमा छ, प्यालेस्टिनीहरूले शोक मनाइरहेका छन्, इजरायलीहरू शोक मनाइरहेका छन् । यस त्रासदीको अन्त्यका लागि अब मानवीय युद्धविरामको खाँचो छ।”

गत अक्टोबर ७ मा इजरायल र हमासबीच भएको युद्धपछि आफ्ना १०१ जना कर्मचारीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय निकायले एक भिडियो सन्देशमार्फत जनाएको छ । 

उनीहरु शिक्षक, विद्यालयका प्रिन्सिपल, इन्जिनियर, डाक्टर, मनोविद, सहयोगी कर्मचारी, सफाइकर्मी र प्राविधिक कामदार थिए ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यो दुःखद खबरले आफू मर्माहत भएको बताउनुभएको छ । 

“यी सहकर्मीहरू आशा र मानवताका ज्वाला हरू थिए,“ उनले एक्समा भने।

“हामी यस दुःखद् घडीमा हाम्रा सबै बहादुर यूएनआरडब्ल्यूए सहकर्मी र उनीहरूको परिवारसँग साथमा रहनेछौँ ।” 

करिब पाँच हप्ताअघि अक्टोबर ७ मा हमासका लडाकुले गाजाको सीमा पार गरेपछि इजरायलले हमास शासित गाजा पट्टीमा आक्रमण सुरु गरेको थियो ।

इजरायली अधिकारीहरुका अनुसार उक्त आक्रमणमा परी एक हजार ४०० भन्दा बढी व्यक्तिको इजरायलतर्फ मृत्यु भएको थियो ।

हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली प्रत्याक्रमणमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको र तीमध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेको बताएको छ ।
 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ११ : ०९ बजे