प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

बाँके र बर्दियाका हातेनलमा आर्सेनिक समस्या

​​​​​​​बाँके ।बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले करिब तीन महिनाअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका असिटेन्ट केमिष्ट गोपाल रेग्मीले जानकारी दिनुभयो ।

खास गरी बाँकेको डुडुवा गाउँपालिका तथा बर्दियाका राजापुर, मधुवन र गेरुवा गाउँपालिकामा हाते पम्पबाट आउने खानेपानीमा फाटफुट मात्रामा आर्सेनिक देखिएको हो । पानी प्रयोगशालाका अनुसार बाँकेका केही स्थानमा खानेपानीमा क्याल्सियमको मात्रा पनि बढी देखिएको छ ।

खानेपानीमा चुनको मात्रा बढी हुनेलाई क्याल्सियम धेरै भएको मानिएको छ । चुनको मात्रा बढी हुँदा खानेपानीको पाइप जाम भएको समेत बताइएको छ । बाँकेको कोहलपुरमा सो समस्या देखिएको रेग्मीले जानकारी दिनुभयो ।
पानी परीक्षणका क्रममा खानेपानीमा कोलिफर्मको मात्रा पनि देखिएको प्रयोगशालाले जनाएको छ । केही नमूनामा त्यस्तो देखिएको उहाँले बताउनुभयो । “शौचालय, गाई गोठ नजिक हाते पम्पबाट आउने खानपानीमा त्यस्तो कोलिफर्म देखिन सक्छ”, उहाँले भन्नुभयो ।

खानेपानी प्रयोगशालाले फिल्डमा गएर र कार्यालयमा आएका खानेपानीका नमूना हेरेर लुम्बिनी प्रदेशबाहेक हुम्ला, जुम्ला र डोल्पा, जाजरकोटको पानी पनि परीक्षण गर्दै आएको छ । नेपाली सेना, नेपाल प्रहरी, खानेपानीका उपभोक्ता समिति, गैरसरकारी संस्थाले कार्यालयमा ल्याएको खानेपानीसमेत परीक्षण हुने गरेको रेग्मीको भनाइ छ ।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ का अनुसार शुद्ध खानेपानीमा सबै नागरिकको हक रहेको छ ।
उहाँले खानेपानीको विभिन्न प्यारामिटर परीक्षण हुने उल्लेख गर्दै खानेपानीको अमिलो वा टर्रोपना, विद्युतीय सम्वाहक, पानीको घुलित अवस्था, अमोनिया लगायतका विषयको परीक्षण हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ४ : १५ बजे