रेशम चौधरीको कैद मिनाहा विरुद्धको अन्तिम सुनुवाइ आजदेखि

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा आज बिहीबारदेखि अन्तिम सुनुवाइ हुँदैछ ।

रेशमको कैद माफी मिनाहा दिने निर्णय गलत रहेको दाबी गर्दै टीकापुर हत्या काण्डमा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायत बोहराले हालेको रिट निवेदनमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

१५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमको जन्मकैदको सजाय माफी मिनाहा गरेका थिए ।

चौधरीको माफी मिनाहाको निर्णय हुँदा उनी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको जन्मकैद सदर मुद्दाको फैसलाको पूर्णपाठ समेत तयार भएको थिएन । रेशम जेलबाट रिहा भएपछि सार्वजनिक भएको पूर्णपाठमा अपराधको राजनीतिकरण गरी मुद्दा फिर्ता लिने प्रयास गर्नु र उन्मुक्ति दिनु गलत हुने उल्लेख छ ।

आजदेखि सुनुवाइ हुने उक्त मुद्दामा योगराज ढकाल ‘रिगल’को मुद्दामा भएको फैसलाको प्रभाव पर्न सक्ने कानुनका जानकारहरू बताउँछन् ।

३ असोजमा संविधान दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गरेका थिए । तर १६ कात्तिकमा सर्वोच्च अदालतले उनको कैद मिनाहा गैरकानुनी ठहर गर्दै बदर गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ७ : ४२ बजे