मनसुन क्रमशः क्षीण हुँदै

जाजरकोटका भूकम्पपीडितले अझै पाएनन् त्रिपाल

जाजरकोट ।  गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किनुभयो । उहाँ  निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि हुनुभयो ।  उहाँ अहिले सदरमुकाम खलङ्गाको नयाँ  बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आउनुभएको छ । 

उहाँलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो समस्या देखिएको छ । खुल्ला सडकभन्दा माथि त्रासले जान नसक्नुभएका थापाकी १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बोल्ने  गरेको  रमिताले बताउनुभयो । भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामवासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन् । सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन् ।

राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताउनुभयो । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उहाँको भनाइ छ । खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत, माग्दामाग्दा हैरान भएपछि हाम्रो कोही रहन्छ जनाउँदै निराश हुनुभएको छ । 

त्यस्तै, अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गर्नुभयो ।  जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुन : एक थान त्रिपाल पाएको उहाँले सुनाउनुभयो । सुरुमा क्षति भएको नामावली सङ्कलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिष्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा आफू थप मारमा परेको थाप्लेका झलक मल्लले बताउनुभयो । घर पूर्ण रुपमा भत्किएर समस्यमा परेको उहाँको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ । भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ । समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताउनुभयो । 

बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उहाँले बताउनुभयो । घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन् । घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ । बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ । 

 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १ : २४ बजे