पीएसओको मृत्यु शंकास्पद : परिवारले दियो प्रहरीमा जाहेरी

मकवानपुर । बागमती प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) यमबहादुर सुवेदीको मृत्यु शंकास्पद रहेको भन्दै उनको परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौना घर भएका प्रहरी सहायक निरीक्षक (असई) सुवेदी मंगलबार बिहान हेटौंडा-११ पुन्य क्षेत्र मन्दिर नजिकैको जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

सुवेदीले लगाएको पेटी खोलेर झुण्डीको देखिए पनि उनको शरीरको आधा भन्दा बढी भाग भने जमिनमा लत्रिएको र शरिरको विभिन्न भागमा निलडाम देखिएको भन्दै परिवारले अनुसन्धानको लागि निवेदन दिएका हुन् ।

हिजो हेटौंडा अस्पतालमा गरिएको पोष्टमार्टमको क्रममा पनि उनको घाटीको हड्डी भाँचिएको र खुट्टा तथा जिउमा निलडाम देखिएको पाइएको मृतकका आफन्तले बताए ।

मृतकका भाई इन्द्र सुवेदीले घटना निकै शंकास्पद देखिएको भन्दै घटनाको निश्पक्ष छानविनको माग गर्दै उजुरी दर्ता गरेका हुन् ।

आफ्नो डिउटी सकेर उनी साँझ ६ बजेर ३७ मिनेटमा हेटौंडा-११ मा रहेको सहिद स्मारक गेटबाट क्रस गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।  डिउटी सकिनासाथ किन हतार–हतार गरेर उनी स्मारक क्षेत्रमा प्रवेश गरे भन्ने विषय शंकाको घेरामा रहेको परिवारको भनाइ छ ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ९ : ०४ बजे