पाटन अस्पतालको सेवा बन्द गरी धर्नामा नउत्रिनुहोस् : प्रहरी

काठमाडौं – कात्तिक १८ गते दुई जना बिरामीको मृत्यु भएको घटनामा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै चिकित्सकमाथि भएको हातपातका विषयमा अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरले जनाएको छ। 

प्रहरीले बिरामी र पाटन अस्पताल चिकित्सकका तर्फबाट निवेदन आएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेकाले अत्यावश्यक सेवा बन्द नगर्न चिकित्सकलाई अनुरोध गरेको छ। 

कात्तिक १८ गते अस्पतालकको ज्येष्ठ नागरिक वार्डमा कृष्णबहादुर नगरकोटी र जनमायाँ राईको इन्जेक्सन लगाएको पाँच मिनेटभित्रै मृत्यु भएको थियो। 

त्यसपछि भने मृतकका आफन्तले चिकित्सकमाथि हातपात गरेका थिए। यता अस्पतालका फेलो, रेजिडेन्ट चिकित्सकसमेतले असुरक्षित भएको भन्दै अत्यावश्यकबाहेकका सेवा बन्द गर्दै धर्ना थालेका छन्। 

ललितपुर प्रहरीले १९ गते मृतकका आफन्तहरु र २० गते चिकित्सकका तर्फबाट निवेदन प्राप्त भई अनुसन्धान र प्रमाण संकलन भइरहेकाले अस्पतालको सेवा प्रवाहमा अवरोध नगर्न अनुरोध गरेको हो।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ४३ बजे