टिकटकमा ‘जथाभावी’ भिडियो बनाउनेलाई कार्वाहीको बाटो खोज्दै सरकार

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नेपाल प्रहरी र टिकटकबीच छलफल भएको छ। 

सामाजिक सञ्जालनमा प्रकाशन तथा प्रसारण हुने ‘गैरकानूनी’ सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीमाथि कारबाही गर्न नेपाल प्रहरीको साइवर ब्युरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय,सिंगापुरबीच गत शुक्रबार छलफल भएको हो।

उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सद्‌भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्‌भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन सहज हुने गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘जिम्मेवार नागरिकको रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्‌भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

​​​​​​​

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : १६ बजे