किसानबाट २५ लाख ठगेको आरोपमा माओवादीका नेता पक्राउ

कैलाली – कैलालीमा माओवादी केन्द्रका एक नेता २५ लाख भन्दा बढी ठगीको आरोपमा पक्राउ परेका छन्।

माओवादी केन्द्रका जानकी गाउँपालिका गाउँ कमिटी सचिव जयप्रकाश दहितलाई प्रहरीले ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

मिलन कृषक समूह र हरियाली कृषक समूहका संयोजक समेत रहेका दहितसहित अन्य दुई जनाले किसानबाट करिब २५ लाख ३७ हजार ठगी गरेको उजुरी पछि उनलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। दहित सहित अन्य २ जना विरुद्ध २१ जना स्थानीयले प्रहरीमा उजुरी दिएका थिए।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि चम्पा ट्याक्टर, पावर टेलर अनुदानमा उपलब्ध गराइ दिने भन्दै जानकी गाउँपालिका किसानबाट दहित सहितका अन्य २ जनाले रकम उठाएको आरोप उजुरीमा उल्लेख गरिएको छ।

घटनाका आरोपी दुई जना भने फरार रहेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी हिरासतमा रहेका दहितलाई नियन्त्रणमा राखेर घटनाको अनुसन्धान गर्न जिल्ला अदालत कैलालीले आदेश दिएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिए।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : ०३ बजे