साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

देशको चित्रः राजनैतिक व्यवस्था र राजनीतिको चरित्र

हामी देशको अवस्था अथवा चित्र बदलिएन भन्छौं, तर चित्र कसरी बदलिन्छ भन्ने कुरा बिर्सन्छौं। हामीले बुझ्नुपर्थ्यो, “राजनैतिक व्यवस्थाको चरित्र र राज्य सञ्चालनको दृष्टिकोण नबुझ्दा आमजनताले गणतन्त्र र राजतन्त्रबीचको आधारभूत अन्तर र मुल्यमान्यता बुझ्न र सोअनुसार आफूलाई क्रियाशील गर्न सकिरहेका छैनन्। जसले गर्दा उनीहरूमा गणतन्त्रभन्दा राजतन्त्र नै ठीक हो कि भन्ने भ्रम बढ्दो छ।” जनतामा बढ्दो यो भ्रम हटाउन लोकतान्त्रिक गणतन्त्रलाई बलियो र परिपूर्ण बनाउने राजनीतिक विचार र दलको पक्षमा हामी उभिनु पर्छ।

गणतान्त्रिक चरित्र बोकेको, लोकतान्त्रिक मुल्यमान्यता स्वीकारेको र समाजको परिवर्तनमा प्रगतिशील सोचबाट निर्देशित र क्रियाशील हुने क्षमता र इच्छाशक्ति दल र नेतृत्वको पक्षमा माहौल बनाउनु हामी सबैको कर्तव्य भएको छ। जनतालाई भ्रमहरूबाट मुक्त बनाएर भावनात्मक रूपमा परिपूर्ण लोकतन्त्र अनि राजनीतिको पक्षमा उभिन सक्ने बनाउनु पर्छ।  त्यसैले आजको आवश्यकता लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउन जनताको चेतना र विवेक उन्नत बनाउँदै जनअपेक्षाहरू सम्बोधन गर्नेगरी राज्य संयन्त्रहरूलाई काम गर्ने बनाउनु पर्छ। यसका लागि प्रगतिशील लोकतान्त्रिक विचार र शक्तिलाई बलियो बनाउनु पर्छ।

आजको समयले हामीलाई राजनीतिक विचार र अभ्यासहरू हेरेर बुझेर कुन राजनीतिक दल र नेतृत्व ठीक भनेर चिन्नुपर्छ। यसका लागि नियमित रूपमा जनता प्रशिक्षित पनि भइरहनु पर्छ। हामीले अवलम्बन गरेको राजनैतिक व्यवस्थाको चरित्रअनुसारको शैक्षिक, प्रशासनिक, न्यायिक र आर्थिक व्यवस्था बनाउन र कार्यान्वयनमा लैजान नसक्दा देशमा अहिले समस्या देखिएको हो। यसर्थ यतिबेला राजनैतिक प्रणाली र शासकीय स्वरूपका बारेमा होइन शिक्षा, प्रशासन, न्याय र अर्थ प्रणालीको संरचनामा संरचनात्मक परिवर्तन र प्रभावकारी कार्यान्वयनमा जानुपर्छ। अनिमात्र अहिले देशमा देखिएका समस्याहरू समाधनउन्मुख हुन थाल्नेछ, जनमनोविज्ञान पनि सकारात्मक बन्नेछ अनि भ्रम र वितृष्णाको जगमा सुरू भएको लोकरिझ्याईंको राजनीति सकिने छ।

आज देशले हामीसँग कुन प्रश्नमा कसरी प्रस्तुत हुने अनि प्रभाव र दबावमा परेर धारणा बनाउने र निष्कर्षमा पुग्नु हुँदैन् भन्ने अपेक्षा गरेको छ। त्यसैलै आज वस्तुस्थिति बुझेर वस्तुनिष्ठ भएर हामीले हाम्रा अधिकारहरू उपयोग गर्ने र क्रियाकलापहरू अघि बढाउन सक्नुपर्छ। भ्रममा अलमलिने र फण्डाहरूमा रमाउने बानीबाट मुक्त हुनुपर्छ।  लोकतान्त्रिक गणतन्त्रलाई बलियो र जनमुखी बनाउन यसको मूल चरित्रअनुसार हामीले हाम्रा गतिविधिहरू अघि बढाउनु पर्छ। व्यवस्थाको चरित्र एकातिर हाम्रा अभ्यास र व्यवहार अर्कातिर हुँदा देशको अवस्था अपेक्षाकृत रूपमा नसुध्रिएको स्वीकार गर्नुपर्छ।

लोकतान्त्रिक प्रणाली बलियो बनाउने हो भने जनताले खराबलाई खराब र असललाई असल भन्न र सोहीअनुसार आफ्नो अधिकार प्रयोग र योगदान गर्न सक्नुपर्छ। विचारहीन राजनीति र चरित्रहीन नेतृत्वको विपक्षमा उभिनु पर्छ।  भ्रमहरूबाट पूर्णरूपमा मुक्त हुनुपर्छ। भावनात्मक रूपमा भड्किएर लहलहैमा लागेर हिंड्ने बानी छोड्नु पर्छ।

हिजोआज जनताको चेतना र विवेकलाई भ्रमित बनाउने प्रयासहरू भइरहेका छन्। यतिबेला यसको नेतृत्व एकातिरबाट कम्फर्टेबलवादले त अर्कातिरबाट लोकप्रियतावादले गरिरहेको छ भने पछाडिमा नेपालमा नियन्न्त्रित अस्थिरता चाहने पक्षले सघाइरहेको छ। सञ्चार माध्यमहरूले पनि सत्यतथ्य बाहिर ल्याउने मनासयका साथ स्वतन्त्र र निष्पक्ष भएर व्यावसायिक धर्म निर्वाह गरिरहेका छैनन्। सामाजिक सञ्जालको दुरूपयोग त कति भएको छ कति! तर यो खालको षडयन्न्त्रलाई जनताले बुझ्न सकिरहेका छैनन्। जसले गर्दा देशको चित्र बदल्ने राजनीतिको पक्षमा सक्रिय हुन पनि सकेका छैनन् र समाजमा गलत भाष्य स्थापित गर्न सजिलो भइरहेको छ।

हल्लाका साथ गलत भाष्यलाई स्थापित गर्ने अभियान नै चलेको छ। यसका लागि सञ्चार र सञ्जालमा व्यापक लगानीका सथ प्रयोग भइरहेको छ। त्यो लगानी कति अवैध छुट्टिएको छैन्। जनताले त्यस्ता गतिविधि र अभिव्यक्तिमाथि प्रश्न उठाउने क्षमता देखाएका छैनन्। हाम्रो यो खालको मनोविज्ञान बुझेको देश विरोधी आन्तरिक र बाह्य शक्तिहरू नेपालमा नियन्त्रित अस्थिरता बढाउन उत्साहित भएर लागेका छन्।

“भ्रमित मनोविज्ञानले हामीलाई भविष्य हेरेर वर्तमानमा ठीक बाटोमा ठीक गतिका साथ सक्रिय हुन दिदैन्। आजको प्रमुख समस्या यही हो। तसर्थ समस्या बुझेर जनताले विचार बनाउन नसक्दासम्म राजनीतिक नेतृत्वले पनि भोलिको नेपालको राम्रो चित्रसहित समृद्ध नेपालको परिकल्पना गरेर आफूलाई अघि बढाउन सक्ने वस्तुगत अवस्था पनि बन्दैन्।” चित्र हेरेर मात्रै मान्छेको चरित्र थाहा हुँदैन, यसका लागि मान्छेका आचरण र व्यवहार पनि थाहा हुनुपर्छ। तर हिजोआज हामीहरू रूप पक्षमात्र हेरेर धारणा बनाउने गल्ति गरिरहेका छौं। हाम्रो यो कमजोरी बुझेर र यसको उपयोग गरेर कम्फर्टेबल लोकप्रियतावादले जनता झुक्याउने राजनीति गर्न खोजिरहेका छन्।

यतिबेला जनताको सुझबुझ, नेतृत्वको दूरदर्शिता र प्राज्ञिक वर्गको बौद्धिकताको परिक्षण हुँदैछ। यो परीक्षणमा हामी कसरी उतिर्ण हुन्छौं, प्रतिक्षाको विषय बनेको छ। अहिले देशमा देखिएका चुनौतीहरूलाई अवसरमा बदलेर परिक्षणमा खरो उत्रदै देशको चित्र बदल्ने र समृद्ध नेपाल सुखी नेपाली बनाउने आकांक्षा पूरा गर्नुपर्ने भएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १ : ५७ बजे