काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरु बीच भेट भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनु भयो ।
भेटवार्ताको क्रममा अध्यक्ष ठाकुरले उहाँको दलले अघि सारेको माग सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । सरकारले जसपाका मागहरु सम्बोधन गरे सरकारलाई समर्थन दिने जसपाले बताउदै आएको बेला आजको भेटलाई अर्थपूर्ण रुपमा लिईएको छ ।
सांसद रेशम चौधरीको मुद्दा खारेज र तराई–मधेस आन्दोलनका मुद्दाहरु खारेज हुनुपर्ने लगायतका माग जसपाले सरकार समक्ष राख्दै आएको छ ।
त्यस्तै आज सरकार र जसपाबीच वार्ता गर्न गठित कार्यदलको बैठक समेत बसेको छ । बैठकमा जसपाले राखेको मागबारे छलफल समेत भएको थियो ।
सरकारका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा जसपाका तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला वार्तामा जुटेका छन्। कार्यदलले समझदारीको खाका तयार पार्नेछ।
प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार ६ : ०६ बजे
प्रतिक्रिया