साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

हात्तीहरूको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन

बाँके । हात्तीहरूको स्वास्थ्य जाँचका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निकुञ्जमा पालिएका हात्तीहरूको स्वास्थ्य जाँचका लागि बिहीबारबाट सुरु भएको शिविर आज शुक्रवारसम्म चल्नेछ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा शिविर आयोजना गरिएको हो । पालुवा हात्तीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र उपचार गर्ने उद्देश्यले हात्ती स्वास्थ्य शिविर सुरु गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

शिविरमा ठाकुरद्वारास्थित निकुञ्ज हात्तीसारमा रहेका १३ वटा हात्तीहरूको स्वास्थ्य परीक्षण गरिने चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य शिविरमा हात्तीको नङ काट्ने (फुट ट्रिमिङ), रगत जाँच गर्ने र जुकाको औषधि खुवाउनेलगायत अन्य चेकजाँचका कार्यहरू हुनेछ । यस पटकदेखि प्रत्येक हात्तीलाई रेबिज र टिटानस विरुद्धको खोप पनि दिइनेछ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले पालुवा हात्तीमा देखिने स्वास्थ्य समस्याको उपचारका लागि प्रत्येक वर्ष स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हात्तीको स्वास्थ्य अवस्था कस्तो छ, शरीरमा पौष्टिक तत्त्वको अवस्था के छ, अन्य कुनै रोग छ कि छैन भन्ने बुझ्न र उपचार गर्न शिविरको आयोजना गरिएको हो ।

स्वास्थ्य शिविरमा एउटा हात्तीको परीक्षणका लागि करिब एक घण्टा समय लाग्ने र चिकित्सकसहित दुई जना प्राविधिक (टेक्निसियन) लाग्ने वरिष्ठ पशु चिकित्सक डा. श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : ५४ बजे