साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

बालेन्द्रकाे स्टन्ट र मेयर्स फोरम पाँचौ बैठकको सत्यतथ्य !

​​​​​​​काठमाडौ महानगरका मेयरज्यू समयमै बैठकमा आउनुभयो । बैठकमा सबैको आसनग्रहण पछि स्वागत मन्तव्य बैठक आयोजना गर्ने बुढानीलकण्ठ नगरपालिकाको तर्फबाट मैले राखें ।

त्यसपछि राष्ट्रिय गान गाईयो । त्यसपछि फोरमका अध्यक्षज्यू ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनज्यूले बैठकको ऐजेण्डा प्रस्तुत गर्नका लागि सहजकर्तातर्फ रूलिङ गर्नुभयो । त्यतिबेलै काठमाडौ महानगरका प्रमुख बालेन्द्र शाहज्यूले ‘एकछिन एकछिन’ भनेर हात उठाउनुभयो ।

बैठकका अध्यक्षज्यूले ऐजेण्डामाथि जाउँ अनि त्यसमाथि व्यापक छलफल गरौं भन्ने प्रस्ताव राखीरहनुभएको बेलामै काठमाडौं महानगरका प्रमुखज्यू जुरूक्क उठ्नुभयो र मैले बोल्न नपाउने भन्नुभयो । बैठकका अध्यक्षज्यूले मेयर फोरमको सचिवालयले ऐजेण्डा निर्धारण गरेको र पहिला ऐजेण्डामाथि नै प्रवेश गरौं त्यसपछि बोल्ने हो, बोल्न नदिने भनेकै छैन भन्नुभयो । लगत्तै काठमाडौं महानगरका मेयरज्यू बोल्न नदिने भन्दै छिटोछिटो बैठक हलबाट बाहिरिनुभयो ।

बैठक ऐजेण्डामा प्रवेश भयो । नेपवेष्टले आफ्नो प्रस्तुति दिएपछि घनिभूत छलफल भयो । सबै प्रमुख, उपप्रमुखले नेपवेष्टको आधिकारिकता, त्यसमाथि उठिरहेको आशंका, प्रश्न र योजना कार्यान्वयनको विश्वसनीयता, लगानी आदिमाथि धेरै प्रश्नहरू गर्नुभयो । नेपवेष्टमाथि सबै पालिकाका प्रतिनिधिले यस्तरी सिधै प्रश्न एवम् प्रस्तुति गरि अन्तरक्रिया गर्न पाएको यही अवसर रहेछ । नेपवेष्ट भने काठमाडौ महानगरसँगको समन्वयमा मात्रै आफूलाई निर्धारण गरिरहेको रहेछ ।

दायाँ बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी,बायाँ ललितपुर महानगरपालिका प्रमुख चरिबाबु महर्जन र बीचकी बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा लेखक

नेपवेष्टले पनि बिस्तृत रूपमा काठमाडौ उपत्यकाभरिका सबै पालिकामा आफ्नोे कुरा राख्ने एकपटक अवसर खोजेको रहेछ । त्यहीँ त्यही बेलामा हामी धेरैले यो कुराको विषयमा जानकारी पायौं ।

बैठकमा प्रस्तुति र प्रश्नहरू मात्रै भयो, निर्णय सिफारिश केही गरिएको छैन । १३ वर्षसम्म अल्झिएको जटीलताको विषयमा सुसूचित मात्रै हुने काम भयो ।
तर मेयर बालेन्द्र शाहज्यूले यो बैठकको विषयलाई लिएर दिनुभएको आपत्तिजनक अभिव्यक्तिप्रति उक्त बैठकको मात्र साक्षी एवम् जिम्मेवार सदस्यको हैसियतले खेद प्रकट गर्दछु ।

बैठकको न्यूनतम मर्यादा पालना नगर्ने, गर्नै नपर्ने अवस्था सृजना गरिदिई सबै चोर, देश बेचुवा, ‘काठमाडौ विक्रीमा छैन’ जस्तो विकृत अभिव्यक्ति दिने छुट वहाँले कतिञ्जेल पाइरहने ? नेपवेष्टसँगको विषय टुङ्ग्याउन स्वयं काठमाडौ महानगर वढी जिम्मेवार हुनुपर्ने बुझियो । तर महानगर प्रमुखज्यूको यस्तो अराजक गैर जिम्मेवार स्टन्ट मात्रै कतिञ्जेल हेरिरहने, सुनिरहने ?

अनिता लामा बुढानीलकण्ठ नगरपालिकको उपप्रमुख हुनहुन्छ ।

​​​​​​​

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १२ : १७ बजे