खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

संक्रमणकालीन न्याय सजिलो विषय छैन : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्याय सजिलो विषय नभएको बताएका छन् । उनले नेपालले लामो समयको प्रयासपछि संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्न लागिरहेको उल्लेख गर्दै यसले नेपालको दिगो शान्ति र विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । 

नेपालमा भ्रमणमा आएका गुटेरेसले मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै अल्पविकसितको अवस्थाबाट अघि बढ्न लागेकोमा त्यसका लागि नेपाललाई संयुक्त राष्ट्रसंघको समर्थन र सहयोग रहने बताए ।

'तपाईँहरू शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ,' उनले भने, 'संक्रमणकालीन न्यायका प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णबिराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर यो सजिलो भने छैन ।'

उनले समावेशी र पीडित केन्द्रित भएर मात्रै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सकिने बताए । संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको भन्दै महासचिव गुटेरेसले दुईबीचको सहकार्य गहन रहेको समेत उल्लेख गरे ।

'नेपाल लामो समयदेखि संयुक्त राष्ट्रसंघ परिवारको प्रिय सदस्य र हालैमा अतिकम विकसित मुलुकहरूको समूहको अध्यक्षका हैसियतमा विकासोन्मुख देशहरूका लागि प्रभावशाली आवाज भएको छ । र यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ,' उनले भने, 'विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो ।'

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ४ : ५९ बजे