कमरेड, ओलीमाथि फेक आरोपको अन्तर्य  

खुसी,खोकी,प्रेम र राजनीतिक अपराध धेरै दिन लुकाउन सकिन्न । गुपचुपमा गरेको प्रेम नौमहिना पछि भुईँमा नै झर्छ । एमाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओलीविरुद्ध लगाएका कपोल कल्पित लाञ्छना पानीको फोकाझैँ विगतमा  फुटेको देखिएकै छ । नेपालका लागि चीनकी राजदूत होउ यान्छीसित जोडेर ओलीलाई लाञ्छित गर्न फेक समाचार प्रशारण गरेको थियो । यो फरेबी न्युज चल्तीको  एक भारतीय मिडिया जी न्युजले प्रशारण गरेका थियो तर परिणामबाट उक्त समाचार सरासर झुट रहेको घाम जत्तिकै छर्लङ्ग भएको थियो । 

भारतीय  जनता र त्यहाँका सबै सकारात्मक सोच र संस्कारप्रति हामी नेपाली सकारात्मक छन्  र दुवै देशका जनताका बीचको एक आपसको मैत्रीपूर्ण सम्बन्ध उल्लेखनीय रहेको छ तर नेपाल प्रति अत्यन्त नकारात्मक तथा खोटी सोच राख्ने सरकारको नियत र नीतिप्रति नेपाली जनतामान  रोष रहेको छ ।  भारतीय कतिपय मिडिया नेपालप्रति चरम भ्रम फैलाउन उद्यत रहेको अहिले पनि स्पष्ट हुन्छ । यसको पछिल्लो उदाहरण कम्बोडियाको टेलिकममा ओलीको धेरै मोटो आर्थिक लगानी रहेको फेक समाचार हो । यसैलाई आधार बनाएर पर्साइँ थरि व्यक्ति चरम आवेश उत्तेजनामा सडकमा बम्किरहेको देखिन्छ ।  आरोप लगाउने मान्छे जब अधैर्य भएर आवेश र उत्तेजनामा बोल्छ तब त्यसमा  अलिकति पनि सत्यता छैन भन्ने बुझे हुन्छ । सत्य तथ्य प्रमाण छ भने चरम उत्तेजनामा आएर पाँडे गाली गर्दैन । र कतिपय भारतीय मिडियाहरु फेक समाचार प्रवाह गर्छन् भन्ने कुरा भारतकै सर्वोच्च न्यायालयले फैसलामा उल्लेख गरेको छ । २०७७ असार २७ गते अन्नपू्रर्ण पोस्ट डट कममा प्रधान सम्पादक अखण्ड भण्डारीद्वारा सम्पादित समाचारमा सविस्तार उल्लेख गरिएको छ ।

भारतीय मिडियाका झुटकारिता शीर्षकमा लिखित समाचारमा जी न्युज,आज तक,टाइम्स अफ इण्डिया, एकोनोमिक्स टाइम, पाइनियर एक्स्प्रेस, द वायर न्युज पोर्टर लगायत पत्रिका र मिडिया फेक न्युज निर्माण र प्रकाशनमा सक्रिय रहेको उल्लेख छ । भारतीय समाचार प्रकाशित गर्दा पनि फेक समाचार बारबार गरेपछि परेको उजुरीमा  भारतीय उच्च अदालतले प्रेस स्तन्त्रता सर्वोच्च हो तर त्यो एकतर्फी हुनुहुँदैन भनेर फैसला गरेको रहेछ । भारतमा फेक  समाचार प्रकाशित र प्रसारित गर्ने होडबाजी नै  चलेको  समाचारमा बताइएको छ ।

जहाँसम्म ओलीलाई यस किसिमले सरासर फतुर आरोपको प्रश्न छ, त्यसका अनेक कारण रहेका छन् । भारतीय चर्को दवावलाई अटेर गरी  नेपालको संविधान जारी गरेको, जारी संविधान विरुद्ध तराई मधेसमा फैलाइएका  आपसी एकता भाँड्न फैलाइएका द्वेषपूर्ण  अनेक भ्रमलाई निस्तेज पारेको , चुच्चे नक्सा नेपाली नक्सामा आबद्ध गरेको, नाकाबन्दी निस्फल पारेको, चीनसित पारवहन सन्धी सम्पन्न गरेको,  सत्यमेव जयते होइन, सिंहमेव जयते भनेको तथा थिचाहा मिचाहा प्रवृत्तिलाई ओलीले  पटक्क सहन नगरेको  जस्ता विषय छन् ।  उहाँले विगतका कतिपय प्रधानमन्त्रीले झैँ नेपाल र यहाँको प्रधानमन्त्रीलाई भारतको भाइ भन्ने प्रवृत्तिलाई तर्क संगत तथा चित्त बुझ्दो रुपमा आम जनताले बुझ्ने गरी व्यवहारतः  खण्डन गरिदिनु भयो । यी सबका कारण एमाले र ओली विरुद्ध भारतीय शाषक कुद्ध  बनेको सबैसामु छर्लङछ । मूर्ख तथा खोटीमनहरु बदलाको भावना राख्छन्, सज्जनहरु  माफ गरिदिन्छन् विद्वान्हरु बिर्सिदिन्छन् भनेझँै मूर्खको राम्रो ओखती गर्नु जरुरी देखिन्छ । 

 सामान्यतया प्रगतिशील राष्ट्रवादी शक्तिलाई अनेक तरहले लोभमा पार्ने प्रयत्न गरिँदो रहेछ । अनि फुटाउ र शासन गर भन्ने नीति अपनाइदो रहेछ । त्यसैले विगतमा एकीकृत पार्टीमा नियोजित रुपमा फुट उत्पन्न गराइएको हो । ओलीलाई संसद् विघटन गर्न बाध्य बनाइएको हो । किनभने ४०० यस वर्षमा पुँजिवादी शक्तिले धेरै फरेवी अनुभव समेत सिकेको छ । संसद् विघटन अत्यन्त अप्रिय कुरा हो र यो काम गरे लामो समय जनता भड्किन्छन् भन्ने प्रतिक्रियावादीले राम्ररी बुझेकै हो र थियो । तर एमालेका कतिपय नेता यो बाध्यकारी तर अप्रिय काम गर्न बाध्य भएको यथार्थ सत्य कतिपय  नेताहरु नै स्पष्ट नभएको देखिन्छ ।

संविधानका धारा र दफाको व्याख्या मात्र भर गरेर हुँदैन त्यसको मर्म र महत्व बोध गर्नु पर्छ । एमालेका केही वकिलसमेत राजनीतिको सत्रघुम्ती बुझ्दा रहेनछन् । यस विषयमा स्वयं नबुझ्ने नेताले कार्यकर्तालाई संसद् विघटन गर्न बाध्य परिस्थितिलाई घैँटामा घाम लाग्ने गरी बताउन अझै सकिरहेको देखिन्न । केही दिन अघि दमक जाँदा र त्यहाँको अवस्था बुझ्दा यो कुरा  थाहा भयो । दमकका प्रतिबद्ध पुराना कार्यकर्ता नेता श्याम दाहालसितको एकान्त वार्तामा यो खुलस्त भयो ।  संसद् विघटन गरे पनि र विघटन नगरी प्रचण्डलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला गरेको भए पार्टी अध्यक्ष ओलीको दोहोलो काड्ने कुनियत  थियो ।  प्रचण्ड प्रधानमन्त्री भएका भए  ओलीलाई कुनै न कुनै निहुँमा केही दिनका लागि भए पनि जेल हाल्ने योजनामा रहेका थिए । यो कुराको संकेत स्वयं ओलीले प्रचण्ड सहितले  आफूमाथि लगाइएको फतुर आरोपको प्रत्युत्तर पत्रमा सूक्ष्म रुपमा उल्लेख गर्नु भएको पाइन्छ ।

अक्षर भित्र आशय र भावना पनि हुन्छ भनी बुझ्ने र पढ्नेलाई यो कुरा थाहा हुन्छ र छ । एउटा अगुवा नेता चोर र चण्डालभन्दा पनि बाठो हुनुपर्छ ।  यो चाहिँ देश र जनताको हितका लागि बठ्याइँ गर्नुपर्छ भन्या हो नि । अर्थात् दुष्मनहरु के कस्ता गुप्तगुषडयन्त्र गरिरहेका छन् भन्ने बुझ्ने ल्यागत र तागत कुनै पनि प्रमुख नेतामा  हुनैपर्छ । ब्राजिलका पूर्व वाम पन्थी नेता तथा राष्ट्रपति दा सिल्भा लुलाको शासन कालमा देशको विकासले फड्को मारेको थियो । त्यसैले लुलाको जनप्रिय तथा विकासवादी छविबाट आत्तिएर अमेरिका लगायत प्रतिक्रियावादी शक्तिले उहाँलाई कथित भ्रष्टाचारको अभियोग लगाएर १८ महिना कठोर कारवासको सजाय दिए । प्रतिक्रियावादीले  लुलाको राजनीतिक जीवन नै समाप्त पार्ने दुराशय राखेका थिए ।  तर न्यायालयले प्रमाण नपुगेर  थुनामुक्त गरिदियो । यस्ता घटना संसारका अरु देशमा पनि भएका छन् । त्यसैले सच्चा कम्युनिस्ट र बामपन्थी राजनीतिकर्म र कर्मीलाई के कसरी सिध्याउन प्रयत्न गरिन्छ भन्ने थाहा पत्तो नपाउने नेता राजनीतिक क्षेत्रका  नाबालक हुन् । 

यस्ता नाबालक केही बुद्धिजीवी पनि रहेछन् ।  सिक्किमले गणतन्त्र जोगायो तर देश जोगाउन सकेन भन्ने वरिष्ठ कानुन्ची प्रा‍.डा. युवराज संग्रौला संविधानको भावना र मर्मअनुसार  विघटित  पुनस्थापित गर्न कम्मर कसेर लागे,संसदीय मान्यता अनुसार कहीँ र कहिल्यै नबन्ने टीके प्रधान मन्त्री बनाउन मरिहत्ते गरेर लागे । भारतीय  कन्फर्टेबल सरकार बनाउन दशऔला जोडे । अहिले ती इतिहासको  चरम  नालायक सरकारका विरुद्ध लाजै बिना बोलिरहेको देख्दा अचम्म लाग्छ । यो स्थिति त संग्रौला जस्ता कानुन्चीहरुले राजीखुसी ल्याएका हुन् , अनि अहिले उनी त आफूले मुद्दा लडेर ल्याएको सरकार देखेर खुसी हुनु पर्ने हो । भात खानेहरुले यस्तो काम कहिल्यै गर्दैनन् ।  ओली र एमाले सित रिस उठ्यो भनेर कसैले पनि देशको जग खोसिँने र देशघाती काम गर्दैन ।  

       
कम्युनिस्टका विरुद्ध विदेशी देशी प्रतिक्रियावादीले उहिल्यैदेखि अहिलेसम्म लगाएका  नानाभती फरेबहरु यस  लेखमा उल्लेख सम्भव भएन  । ती सबलाई ध्वस्त पार्दै सही कम्युनिस्टहरु देश र जनताका सेवामा अहोरात्र लागिरहेकै छन् ।  यस्ता फतुरहरु जननेता मदन, जबज र एमालेले व्यवहारबाट नै समाप्त पारेको हो । आदरणीय मोहन विक्र्रम सिंहजस्ता केही कम्युनिस्ट नामका नेता र पार्टी आन्दोलन जगेर्ना गर्ने भनेर प्रतिक्रियादीको सेवामा निशर्त लम्पसार परेको दृश्य देख्नु परेकै छ । वर्गस्खलन भएका माकुने लगायतहरु चरम अवसरवादी चरित्र प्रतिदिन उजागर भइरहेकै छ ।  जननेता मदन भण्डारी र  जबजका कारण खुल्ला रुपमा कम्युनिस्ट नामका नाङ्लेपसल खोल्न पाएकाहरु नै जबजका चरम विरोधी भएका छन् ।  माओवादीले कथित जनयुद्धका नाममा अपार जन र धनको सर्र्वनाश गरेर  उल्टो कम्युनिस्ट आन्दोलनलाई बदनाम गरेको थियो अझै गर्दैछ । एमालेमात्र अहिले देशी र विदेशी प्रतिक्रियावादीको विरोधको तारो बनेको छ । त्यसमा पनि ओलीलाई सबैले निसाना बनाएको स्पष्ट हुन्छ । देश र जनताको हित गर्ने पार्टी र नेतृत्व सधैँ सबैतिर  विरोधीको केन्द्र बन्ने गरेको छ ।  अरु पार्टीजस्तै  एमाले र ओली चरम लोभीपापी नहुनु प्रतिक्रियावादीलाई परेको पर्नु पीर हो ।

एमाले पनि अरु  पार्टीजस्तै भएदेखि   बोकाले झैँ नेपालमा दाइँ गर्न सजिलो हुन्थ्यो भन्ने तिनको ध्येय देखिन्छ । एमाले र एमाले नेतृत्व विरुद्ध प्रतिक्रियावादीहरु पहिले देखि नै लिट्टो कसेर लागेका हुन् । जननेता मदन भण्डारीको हत्या प्रकरणमा एमाले नेतालाई मुछेर लागिपर्नु पनि विरोधको अन्तिम अस्त्र थियो  । भण्डारीको हत्या प्रकरणमा टीएन प्रधानले धारावाहिक तर हो कि झैँ लाग्ने  फेक समाचार बारबार प्रकाशित गरिएका थिए ।  समाजवादी देश क्युवाका पूर्वराष्ट्र क्यास्ट्रोको हत्या गर्न अमेरिकाले गरेका अनेक षडयन्त्र विज्ञ पाठक गणलाई अवगत नै छ । साँच्चो मानेमा  जनता चाहिँ देशभक्त हुन्छन् , जनता सबै खालका षडयन्त्रका तानाबुना बुझ्न असमर्थ हुन्छन् । तसर्थ ती जनतालाई नै यस्ता जेलिएका विषयहरु राम्ररी जानकारी दिनुपर्छ । विचार चिन्तन रुपी  बिसालु झारपात तुरुन्तै उखेल्नुपर्छ नत्र त्यसले जरा फैलाउँछ र मन मस्तिष्कमा डेरा जहाउँछ । त्यसैले त्यसलाई तुरुन्तै उखेल्नुपर्छ, नत्र त्यसले जनताका मनमा जग हाल्छ र समाधान गर्न धेरै मिहिनत गर्नुपर्ने हुन्छ । तथ्य, तर्क र वास्तविकतामा आधारित भएर खण्डन गर्नुपर्छ । खण्डन गरेजस्तो गरेर भ्रम खण्डित हुँदैन । सत्य पनि स्थापित गर्नु पर्छ । नेताले देखावा विरोध भन्दा अन्तर मनले र मिही पाराले  विरोध गर्दा त्यो प्रभावकारी  हुन्छ । संकटका बेला मात्र पहिचान हुन्छ । आरती उतारुहरुको   नितान्त निजी स्वार्थ हुन्छ । यस्ताको कुनै भर हुन्न र अभर परेका बेला ती कहिल्यै काम लाग्दैनन् । आलोचनात्मक चेतले मात्र संकट र विकटमा साथ दिन्छ । ढोडको तक्माका भरमा हिमालको फेदीमा पनि पुग्न सकिन्न । बालुबा टाहार जग्गा प्रकरणका प्रमाणित दोषी दूधले धोइन्छन्, कोही बोल्दैनन् । प्रधानमन्त्री ओली उपर लगाइएको फेक समाचारको  केही एमाले नेताहरुले विरोध गरेका छन् तर विरोध पनि ताकतवर हुनुपर्छ र विरोधीको मुखै बन्द गर्ने खालको हुनुपर्छ । ओलीले डमरुमाथि हमला हुन थाल्यो बघिनीले कदापि सहन्न भनेझैँ तमाम डमरुरुपी एमालेसहित तमाम  देशभक्त जनता  बघिनी आमामाथि जाइलाग्दा एक मुख हुनु अपरिहार्य हुन्छ । एक एक गरेर आखिरमा देशमा अस्थिरता र अराजकता सिर्जना दुष्प्रयत्न निस्फल पार्ने प्रयत्न गर्नैपर्छ  । सर्पको दाँतमा,झिँगाको टाउकामा र बिच्छीको पुच्छरमा बिस हुन्छ तर दुष्ट मानिसको शरीरभरि बिस हुन्छ भनेझैँ प्रोपगण्डा र फतुर बारेमा कोही पनि देशभक्त रमाउँदैन  र रमाउन हुँदैन ।  यो एक एक गरेर देश सिध्याउने खेल हो । 
 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ४ : २४ बजे