उपाधि जितेर स्वदेश फर्केको नेपाली टोलीलाई भव्य स्वागत

काठमाडौं । मलेसियामा भएको एसीसी यु–१९ प्रिमियर कपको उपाधि विजेता नेपाली पुरुष क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरे ।

मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भएको थियो ।

वर्षा रोकिएपछि डिएल मेथड अनुसार युएईलाई २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य दिइयो । तर, यूएई १७८ रनमा अलआउट भएको छ । नेपालका अलराउन्डर आकाश त्रिपाठीले महत्त्वपूर्ण चार विकेट लिएपछि यूएई लक्ष्यसम्म पुग्न सकेन ।

क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनलमा युएइलाई डकवर्थ लेविस मेथडमा १९ रनले हराउदै उपाधि जितेको थियो । प्रतियोगिताभर नेपाल अपारजित पनि रह्यो ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  १२ : ३६ बजे