आज पनि दसैँको टीका तथा जमरा लगाउने क्रम जारी

काठमाडौँ । बडादशैँको आज आश्विन शुक्ल पक्षको द्वादशी, बिहिबार पनि मान्यजनबाट दशैँको टीका तथा जमरा लगाउने क्रम जारी रहेको छ ।

मंगलबार मुख्य दिन विजयादशमीमा टीका लगाउन नभ्याउनेहरूले एकादशीदेखि पूर्णिमासम्मै मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन रहँदै आएको छ । 

घरमा मान्यजनको हातबाट टीका लगाइ सकेपछि सर्वसाधारण टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने परम्परा छ। यो क्रम पूर्णिमासम्म रहन्छ।

यद्यपि नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिनमात्र टीका थाप्ने चलन छ । अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ ।

बडादशैँ नेपालीहरुको महान् चाड भएकाले हिन्दूधर्मीसँगै बौद्ध धर्मावलम्बीहरूलेसमेत हर्षोल्लासका साथ मनाउने गर्छन् । राष्ट्रिय पर्व भएकाले विदेशी पर्यटकलेसमेत यो पर्वको देखासिकी गर्दै मनाउने गरेका छन् । 

सरकारले सप्तमीदेखि द्धादशीसम्मै सार्वजनिक बिदा दिँदै आएको छ । 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ७ : १३ बजे