पचली भैरवको १२ वर्षे खड्ग सिद्ध जात्रा सुरू

काठमाडौं – हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्रा हिजोदेखि विधिवत रुपमा सुरु भएको छ। पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने ‘श्री पचली भैरवको खड्ग सिद्धी नाच’ यानिकी नेपाल भाषामा यसलाई गथु प्याखँ भनिन्छ।

एक महिनासम्म यस नाचको तयारी पश्चात हिजो विजया दशमीको पहिलो प्रहरमा मुखौटालाई पचली मन्दिर लगिएको थियो भने दशमीको संध्याकालदेखि विधिवत रुपमा यो नाच (जात्रा) सुरु भएको थियो। हिजोबाट सुरुभएको जात्रा काठमाडौंको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भिमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा लगेर प्रदर्शन गरिनेछ।

१२ वर्ष खड्ग सिद्ध जात्राको क्रममा श्री भैरवले काष्ठमण्डप छेवैको भुतिसतलमा बसेर राजासँग खड्ग साट्ने परम्परा रहिआएकोमा अहिले यो क्रम भने भगं भएको छ। अबको एक वर्षसम्म चल्ने यो खड्ग सिद्ध जात्रा वि.सं. २०८१ सालको भलभल अष्टमीका दिन यो नाच समापन हुन्छ। नाच समापन भएपछि नाचका पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाइने संस्कृतिका जानकारको भनाइ छ। 

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : २२ बजे