धादिङमा सवारी दुर्घटना : १२ जना घाइते

गल्छी – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा आज बुधबार ३ वटा गाडी एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

धादिङबेसीबाट काठमाण्डुतर्फ जाँदै गरेको बा३ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल उछिट्टिएर बाग्मती प्रदेश ०१–०२८ च ९३३६ नम्बरको कारमा ठोक्किएर दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालका अनुसार घाइतेमध्ये बा६०प ४८६९ नम्बरको मोटरसाइकलका चालक गल्छी गाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक र उनकी पत्नी २४ वर्षीया ज्योति पाठक गम्भीर घाइते भएका छन् ।

दुवै घाइतेलाई उपचारका लागि तत्कालै काठमाण्डु पठाइएको छ । अन्य घाइते १० जनाको स्थानीय बैरेनी अस्पतालमा उपचारपछि काठमाण्डुको ट्रमा सेन्टर पठाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ७ : ४० बजे