उपचारका क्रममा मनाङ एअरका पाइलटको निधन

काठमाडौं । मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ ।

गत असोज २७ गते शनिबार हेलिकप्टर दुर्घटनामा परी घाइते भएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज सोही अस्पतालमा उनको निधन भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए ।

काठमाडौंमा उपचार हुन नसकेपछि सेढाइँलाई मुम्बई लगिएको थियो । अस्पतालका अनुसार सेढाइँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो । मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ६ : ०७ बजे