पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेकी गौरीकलीको ६९ वर्षको उमेरमा मृत्यु

बारा । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत अम्लेखगञ्ज हात्तीसारमा रहेको गौरीकली नामक हात्तीको ६९ वर्षको उमेरमा निधन भएको  छ । यमगज नामक जंगली हात्तीले हात्तीसारका अन्य जवान हात्तीलाई दुख दिन थालेपछि गौरीकला करिब १ वर्षदेखि हात्तीसारमा  एक्लै बस्दै आएकी थिइन् । 

पर्सा निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोषकुमार भगतले गौरीकली घटस्थापनाको दिनदेखि अशक्त भई बिरामी भएको र नवमी (सोमवार) को दिन मृत्यु भएको बताएका छन् । उनको मृत्यु कुनै रोगको कारण भन्दा पनि उमेर हदका कारण बुढी भएर मृत्यु भएको बताएका छन् । नौ दिन देखि उठ्न नसकेको गौरीकलीले आहाराको रूपमा पानी र घाँस मात्र खाई रहेको थियो । मृत्युपछि निकुञ्जकै पशु चिकित्सकले सोमबार पोस्टमार्टम गरेपछि साँझ हात्तीसार परिसरमै धार्मिक विधिसहित गौरीकलीको खाल्डो खनेर सद्गत गरिएको भगतले जनाएका छन् । 

सन् १९५४ मा भारतमा जन्मिएकी गौरीकली सन् १९८४ मा अमलेखगन्ज हात्तीसारमा ल्याइएको हो । सुरुदेखि अम्लेखगञ्ज स्थित हात्तीसारमा बस्दै आएकी गौरीकलीको आफ्नो सन्तान छैनन् । यमगज नामक जंगली हात्ती हात्तीसारका रहेका अन्य घरपालुवा हात्ती र आसपासको बस्तीमा छिरेर दुख दिन थालेपछि निकुञ्जले सबै हात्तीलाई निकुञ्जभित्रको रामहोरी भाटामा सारेको छ । 

गौरीकलीको पनि मृत्यु भएपछि अहिले अमलेखगन्ज स्थित हात्तीसार हात्तीविहिन भएको छ । जंगली हात्ती यमगज निकुञ्ज वरपर नै भएकाले हात्तीसारमा तत्कालै हात्ती ल्याउन सक्ने अवस्था नभएको निकुञ्ज प्रशासनले जनाएको छ । हात्ती अभावमा हात्तीसार र त्यस वरपरको होटल तथा पर्यटन गतिविधि ठप्प प्राय भएको छ । अमलेखगन्ज हात्तीसारमा १० हात्तीको दरबन्दी रहेको छ । तीनमा एक मत्ता र सबै ढोइ छन् । प्रत्येक हात्तीलाई ३ वटा कर्मचारीको दरबन्दी छ । त्यस अनुसार हात्तीसारमा अहिले ५ माहुते, ५ पछुवा र ५ फनैतको दरबन्दी छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ३ : ४९ बजे