म्याग्दी । ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुष्ट र अग्लो शरीर भएका बलिया बांगा युवाको सोख गाउँघरमा आयोजना हुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने परम्परा छ ।
धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा बडादसैँको महानवमी पर्वको अवसरमा तत्कालीन थापा राजाका पालादेखि माल पहिचान गर्नका लागि ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ ।
ताकमकोतमा सोमबार भएको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धौलागिरि गाउँपालिकाको वडा नम्बर ७ का ३४ वर्षीय अशोक खत्रीले जिते । सोही वडाका अध्यक्षसमेत रहेका उनले आठौँ पटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास बनाएका हुन् ।
आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको ताकमकोत पूजा व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताए । यसअघि आठपटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि जितेका थिएनन् । प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ युवाले सहभागिता जनाएका थिए ।
पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा विजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ ।
प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार ३ : १८ बजे
प्रतिक्रिया