इजरायलमा मारिएका विद्यार्थीको शव काठमाडौं ल्याइयो

काठमाडौं – इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल पठाइएको छ।

 इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको थियो। 

शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ। परराष्ट्र मन्त्री एनपी साउद पनि नेपाली सेनाको ब्यारेकमा पुग्नु भएको छ।

पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्नेछ। अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ ।

कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।

युद्ध तत्काल रोकिने स्थिति नदेखिएपछि सरकारले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको थियो। पहिलोपटक नेपाल एयरलाइन्सको हवाई जहाज पठाएर २५४ जना नेपालीहरुलाई स्वदेश ल्याइएको थियो भने १८ जना नेपालीहरु भारतको उद्धार उडान मार्फत् आएका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ११ : १० बजे