वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुँदै

वीरगञ्ज । वीरगञ्जमा पाँच वर्षपछि अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

भेट्रान सिटी क्लब वीरगञ्जले पाँच वर्षपछि ‘प्रथम वीरगञ्ज गोल्ड कप २०८०’ अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता बारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सविन बस्नेतले उक्त फुटबल प्रतियोगिता  मधेस प्रदेशकै सबै भन्दा बढी नगद राशि पुरस्कारसहित आयोजना गर्न लागेको जानकारी दिनु भएको छ ।  

​​​​​​​अध्यक्ष बस्नेतले उक्त प्रतियोगितामा नेपाल र भारतका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, आयोजक वीरगञ्ज भेट्रान सिटी क्लब, भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको नर्थ जोन फुटबल गरी कुल  ८ टिमले भाग लिने बताउनु भयो ।

अध्यक्ष बस्नेतले फुटबल प्रतियोगिताको कूल लागत ८० लाख रुपैयाँ लाग्ने बताए पनि हालसम्म वीरगञ्ज महानगरपालिकाले २५ लाख रुपैयाँ दिएको र बाकीं रकमका लागि अन्य प्रयोजकहरूसँग छलफल चलिरहेको बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेताले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् ।

क्लबका महासचिव पङ्कज श्रेष्ठले वीरगञ्जमा विगत पाँच वर्षदेखि हुन नसकेको अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले वीरगञ्जको खेलकुद प्रवर्द्धनमा सङ्घ र प्रदेश दुवै सरकारले उपेक्षा गरे पनि वीरगञ्जले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सक्ने सन्देश दिन उक्त प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो ।

कुनै समय फुटबलको हबका रूपमा चर्चित वीरगञ्जमा अहिले फुटबल खेल प्रतिको क्रेज घट्दै गएको छ ।

क्लबका वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले वीरगञ्जको आदर्श नगर रङ्गशालामा हुने उक्त प्रतियोगिताको प्रवेश शुल्क एक सय रुपैयाँ राखिएको र सेमिफाइनलदेखिको खेलमा भने प्रवेश शुल्क दुई सय रुपैयाँ राखिएको जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले रङ्गशालाको दर्शक क्षमता १० हजार रहे पनि प्रतियोगिताका लागि भने ३ हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिट पनि निर्माण गरिने जानकारी दिनुभयो । उहाँले फाइनल खेलको अघिल्लो दिन अर्थात् कार्तिक २४ गते नेपाल र भारतका महिला फुटबल टिमबिच मैत्रीपूर्ण खेल हुने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, मधेस प्रदेश खेलकुद सङ्घका महासचिव दीपक साह कानु, पर्सा फुटबल सङ्घका अध्यक्ष अनिल कलवार र पर्सा जिल्ला फुटबल सङ्घको महासचिव विनोद परियारलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ७ : ५६ बजे