कप्तान पौडेलको अर्धशतकमा नेपालले युएईलाई सात विकेटले हरायो

काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजअन्तर्गत्को पहिलो खेलमा नेपालले युएईलाई सात विकेटले पराजित गरेको छ । जितको लागि युएईले दिएको एक सय ४१ रनको मध्यम लक्ष्य नेपालले १८.५ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनले ४० बलमा ५ चौकाको सहयोगमा ५१ रन बनाए । यस्तै दिपेन्द्र सिह ऐरीले ३४ रन बनाए । ओपनर आसिफ शेख २७ बलमा २ चौका र एक छक्का हान्दै २३ रन बनाएर आउट हुँदा कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन बनाएर आउट भए ।

युएईका अली नासिर र निलान्श केश्वानीले एक एक विकेट लिए ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४० रन बनायो । युएईका लागि बासिल हामिदले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ३८ बलमा एक चौका र चार छक्कासहित ५१ रन बनाए ।

त्यस्तै अली नासिरले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाए । कप्तान मोहम्मद वासिमले १७ रन बनाए भने आसिफ खानले १५ रन जोडे ।

नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए । यस्तै, गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक एक विकेट लिए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ६ : ४५ बजे