युवा संघको कार्यक्रम विथाेल्ने दुर्गाका कार्यकर्ताकाे रिहाइ माग गर्दै कोशी राजमार्ग ठप्प

धनकुटा । राष्ट्रिय युवा संघ नेपालकाे कार्यक्रम विथाेल्ने दुर्गा प्रसाइँका कार्यकर्ताकाे रिहाइकाे माग गर्दै धनकुटामा यातायात बन्द गरिएकाे छ । 

प्रसाइँका कार्यकर्ताहरुले धनकुटाकाे सबै राजमार्ग ठप्प पारेका छन् । दसैँकाे मुखमा टाढा टाढा जानुपर्ने यात्रुहरु समस्यामा परेका छन् । 

गत भदौ ८ गते धनकुटाको राजारानीमा आयोजित युवा संघको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रहरिले असोज २५ गते प्रसाइँका कार्यकर्तालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका कार्यकर्ताको विनासर्त रिहाइको माग राखेर समितिले आज (मंगलबार) बिहानैदेखि कोशी राजमार्गको भेडेटार-फोक्लेन्ड टापु खण्ड अवरुद्ध बनाएको हो ।

सडक अवरुद्ध भएपछि गन्तव्यमा हिँडेका यात्रुले सास्ती खेप्नुपरेको छ । संघर्ष समितिको अवरोधका कारण कोशी राजमार्ग भएर धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथरलगायत पहाडी जिल्ला आउने/जाने यात्रु बाटैमा अलपत्र परेका छन् ।

समितिका कार्यकर्ताले भेडेटार र फोक्लेन्ड टापुमा भेला भएर सडक अवरुद्ध गराएका हुन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १ : २३ बजे