मनसुन आजदेखि पूर्ण रूपमा बाहिरिँदै

काठमाडौँ । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन आज रातिबाट पूर्ण रूपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुई साता ढिलो बाहिरिएको हो ।

महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन समय अक्टोबर २ तारिख हो । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिएको थियो । असोज २७ गते देशको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भू-भाग तथा बागमती प्रदेश र मधेश प्रदेशका आंशिक भू-भागबाट बाहिरिएको छ । 

यसअघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशको पश्चिमी भू-भागबाट समेत मनसुन बाहिरिसकेको छ । 'मनसुन पूर्ण रूपमा बहिर्गमन हुने अवस्थामा छ,' महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, 'साँझसम्म मनसुन बाहिरिने अनुमान गरिएको छ । आजै मनसुन विशेष बुलेटिन आउन सक्छ ।'
  
उनका अनुसार मनसुन अहिले कोशी प्रदेशमा केन्द्रित छ । मधेश र बागमती प्रदेशका थोरै स्थानमा बाँकी छ । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आगामी दिनदिनसम्म देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए ।

अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भू-भागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा
 
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाँईका अनुसार नेपालमा यस वर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ । याे मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको हो ।

नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यस वर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको हो । काठमाडौँमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ ।  जुन सरदरको एक सय नौ प्रतिशत हो । काठमाडौँमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ ।
     
त्यसैगरी ओखलढुङ्गामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम जनकपुरमा छ सय ३७ दशमलव एक मिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलव आठ मिलिमिटर हो । 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ५ : ०६ बजे