पूर्वराष्ट्रपति भण्डारीबाट उपन्यास ‘अपराजिता’ को लोकार्पण

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपन्यास ‘अपराजिता’ को लोकार्पण गर्नु भएको छ ।

शुक्रवार पूर्वराष्ट्रपति भण्डारीले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश तथा सशस्त्र द्वन्द्वका समयमा त्यहाँका जनताले भोग्नुपरेको समस्यालाई उजागर गरी ​​​​​​​पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’ को लोकार्पण गर्नु भएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले लोकार्पणपछि ८० वर्ष नाघिसक्नुभएका चन्दले उपन्यास लेखेर देखाउनुभएको सक्रियताबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो । “८० वर्ष नाघिसकेको अवस्थामा समेत चन्दले साहित्य सिर्जनालाई निरन्तरता दिएर अपराजिता जस्तो उत्कृष्ट उपन्यास लेखन गर्नु हामी धेरैलाई विस्मृत पार्ने कुरा हो,”– उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले उक्त उपन्यासले नेपाली साहित्यको भण्डारलाई थप सुदृढ र समृद्ध बनाउन मद्दत पु¥याएको र चन्दको सक्रियता र लगनशीलताबाट अन्य साहित्यकारले प्रेरणा लिनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री  चन्दले पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिङ्गो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई प्रस्तुत गरेको भनाइ राख्नुभयो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : २९ बजे