दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

टेरामक्स सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन लेखा समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा हालसम्मका कागजपत्र उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा टेरामक्स प्रविधि जडान भएका दूरसञ्चार सेवा प्रदायक कम्पनीका ग्राहकका सबै किसिमका  कल तथा एस.एम.एस. रेकर्ड, हुने हुँदा व्यक्तिको गोपनीयता भङ्ग हुने भन्दै सांसदहरुले थप अध्ययन गरेर मात्रै खरिद प्रक्रिया अघि बढाउन माग गरेपछि समितिले यस सम्बन्धी कागजात सात दिनभित्र  उपलब्ध गराउन निर्देशन दिएको हो ।

त्यस्तै समितिले दूर सञ्चार सेवा प्रदायक संस्थाहरूले तिर्न बाँकी राजस्व तीन महिनाभित्र उठाइसक्न पनि दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । 

बैठकमा सांसदहरुले नेपालको जनसंख्याभन्दा बढी ग्राहक रहेका नेपाल टेलिकमको सिम कति चालु रहेको छ भनेर रेकर्ड राख्नुपर्ने, एकजनालाई कति वटासम्म सिम प्रयोग गर्न अनुमति दिने भन्नेबारे प्राधिकरण स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी सांसदहरुले नेपाल टेलिकमका भौतिक पूर्वाधार निर्माणमा मात्रै जोड दिइएको भन्दै सेवाको गुणस्तर विस्तारमा जोड नदिइएको बताउनुभयो ।  

बैठकमा सांसदहरुले टेरामक्स प्रविधि खरिद गर्न नेपाल दूर सञ्चार प्राधिकरणले हतारमा सम्झौता गरेको भन्दै  सूचना प्रविधि विज्ञहरुसँग बसेर विस्तृत छलफल अध्ययन र अनुसन्धान गरेर मात्रै निर्णय गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : १४ बजे