इजरायलमाथि फेरि हमला गर्ने हमासको चेतावनी, युएनले भन्यो- परिणाम भयावह हुने देखियो

तेल अभिभ । प्यालेस्टाइनी अतिवादी समूह हमासले आफ्नो भूमिको रक्षाका लागि इजरायलमाथि फेरि आक्रमण गर्ने चेतावनी दिएको छ ।  

दुई पक्षबीचको जारी युद्धका कारण हजारौँको मृत्यु तथा लाखौं मानिस घरवारविहीन भएका बेला हमासले यस्तो धम्कि दिएको हो । हमासको सैन्य शाखाले गाजामा इजरायल आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ । 

 हमासका ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन, 'हामी हाम्रो भूमि रक्षाको पक्षमा छौं, पुनः इजरायलमाथिको हमलालाई दोहोर्याउँछौं ।' हमासले इजरायलको प्रतिकारवाहीले नयाँ ढंगले सोच्न बाध्य बनाएको पनि बताएको छ । 

‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुदैँछ अब शत्रुहरुले हाम्रो आक्रामणको प्रतिक्षा गरेर बसे हुन्छ,’ सैन्य बिग्रेड प्रवक्ता ओबैदाले भनेका छन् ।  

गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले आक्रामण गरेपछि इजरायलले पनि गाजापट्टीमा आक्रमण तीब्र पारिरहेको छ । इजरायलले तत्काल सो आक्रामण नरोकिने बताएपछि हमासले पनि पछि नहट्ने प्रष्ट पारेको हो । 

इजरायलले गाजालाई पूर्णरूपमा घेरेको छ र पानी, इन्धन र बिजुलीको आपूर्ति बन्द गरेको छ । प्यालेस्टिनी क्षेत्रको एक मात्र विद्युत केन्द्र पनि इन्धन सकिए पछि बुधबारबाट बन्द गरिएको थियो । इजरायलले हमासले सबै बन्धकहरूलाई रिहा नगरेसम्म गाजा पुग्न कुनै पनि प्रकारको सहयोग नदिने बताउँदै आएको छ ।

इजरायलले ११ लाख गाजाबासीलाई २४ घन्टाभित्र बाहिर निस्कन भन्दै अन्यथा मृत्युका लागि पर्खिन चेतावनी दिएकाे छ । इजरायलकाे यस्तो चेतावनी पछि संयुक्त राष्ट्रसंघले भनेकाे छ, ‘परिणाम भयावह हुने देखियो, यसलाई इजरायलले राेक्नुपर्छ ।’

इजरायलमा हालसम्म कम्तिमा १२ सय र गाजापट्टीमा १४ सय मानिस मारिएको बताइएको छ । इजरायली सरकारको दावीअनुसार यी बाहेक इजरायली क्षेत्रमा कम्तीमा १५ सय हमास लडाकुको शव पनि फेला परेको छ । त्यस्तै, इजरायली क्षेत्रबाट अपहरण गरिएका करिब १५० जनालाई हमासले बन्धक बनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

यस घटनामा १० जना नेपालीले समेत ज्यान गुमाएका छन् । त्यस्तै, एक जना बेपत्ता छन् भने केही घाइतेको उपचार भैरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : ४९ बजे