दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भ्रष्टाचारको डिल विदेशमा हुन थाल्यो : अख्तियार प्रमुख प्रेम राई

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको डिल विदेशमा हुन थालेको बताउनुभएकाे छ ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त राईले भ्रष्टाचारको डिल विदेशमा हुन थालेकाले प्रमाण जुटाउन समस्या भएको बताउनुभयाे । 

'भ्रष्टाचार अन्तर्राष्ट्रियकरण भयो । सिंगापुर,  हङकङबाट डिलिङ हुन्छ,' उहाँले भन्नुभयाे, 'विदेशमा डिल भएकाले प्रमाण जुटाउन समस्या भइरहेको छ ।' 

उहाँले मालपोत, यातायात जस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुने गरेको बताउनुभयाे । तर, त्यस्ता लेनदेनलाई सापटी भन्ने गरिदिंदा घुस नै हो भनेर प्रमाणित गर्न कठिन हुने गरेकाे उहाँकाे भनाइ छ ।

सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई मान्यता नदिँदा दिनदहाडै घुस लेन-देन हुँदा पनि आफूहरुले केही गर्न नसकेको उहाँको भनाइ छ ।

प्रमुख आयुक्त राईका अनुसार विगतमा सेवाग्राहीहरुसँग कर्मचारीले मागेअनुसारको घुस दिने रकम नहुँदा सेवाग्राही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुग्ने, आयोगले नै सेवाग्राहीलाई रकम दिने र आयोगले दिएको त्यो रकम सेवाग्राहीले घुस मागेको कर्मचारीलाई दिने गर्दथ्यो । त्यही नै बेला नै आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गर्दथ्यो ।

नियमावलीमै भएको यसप्रकारको स्टिङ अपरेसनलाई सर्वोच्च अदालतले खारेज गरिदिएकाले हाल त्यो व्यवस्था हटाइएको जानकारी दिँदै राईले भन्नुभयाे, ‘त्यो नहुँदा दिनदहाडै विभिन्न सेवाग्राहीहरुले रकमकलमको कारोबार गरे पनि हामीले केही गर्न सक्दैनौं ।’

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : २१ बजे