दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

वाग्मतीमा अब तामाङ र नेवारी भाषा पनि सरकारी कामकाजको रुपमा चल्ने

हेटौंडा । वाग्मती प्रदेशमा तामाङ र नेपाल (नेवारी) भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने भएको छ ।

वाग्मती प्रदेशसभामा सोमबार प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएसँगै तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने निश्चित भएको हो ।

प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रस्तुत गरेको विधेयकमाथि छलफलपछि सोमबार सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गरेका थिए ।

अब प्रदेशसभा सचिवालयले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाइने छ । प्रदेश प्रमुखले प्रमाणित गरेपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गर्नेछ । राजपत्रमा प्रकाशित भएको मितिले १ सय ८० दिनपछि प्रदेशसभाबाट पारित विधेयक लागू हुनेछ ।

प्रदेशसभामा विधेयक पारित गर्न प्रस्ताव गर्ने क्रममा सभामुख पाठकले प्रस्तावना वाचन गरेर सुनाएका थिए । मौलिक भाषाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने उद्देश्यले सरकारी कामकाजको भाषाको रुपमा प्रदेशका बहुसंख्यक जनताको बोलीचालीको भाषा प्रयोगमा ल्याउने प्रयास भएको उनले बताए ।

नेवार तथा तामाङ समुदायले आफ्नो भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषा बनाउन माग गर्दै आएका थिए । जनगणना-२०७८ अनुसार वाग्मती प्रदेशका १३ जिल्लामा तामाङको जनसंख्या १२ लाख १६ हजार ५ सय १७ छ । प्रदेशको कुल जनसंख्याको १९.८८ प्रतिशत तामाङ समुदाय छन् । यसैगरी प्रदेशमा नेवार समुदायको जनसंख्या १५.५७ प्रतिशत अर्थात लाख ५२ हजार ४ सय ६० छ ।

दुई वर्षअघिको जनगणनाअनुसार वाग्मती प्रदेशमा जनसंख्या सबैभन्दा बढी ६१ लाख १६ हजार ८ सय ६६ छ ।

वाग्मती प्रदेशमा तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा ल्याउने भएपछि तामाङ र नेवार समुदायका अगुवालगायत संघसंस्थाहरुले प्रदेश सरकारलाई धन्यवाद दिनुको साथै खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ५ : १९ बजे