इजरायल युद्धमा गोली लागेका दाङका प्रविण डाँगीको खुट्टाको अपरेशन सफल

काठमाडाैँ । इजरायल युद्धमा गोली लागेर घाइते भएका दाङका प्रविण डाँगीको स्थानीय अस्पतालमा शल्यक्रिया गरिएको छ ।

उनले अस्पतालको बेडबाटै शल्यक्रिया सफल भएको भिडियो सन्देश पठाएका छन् । सो भिडियोमा उनले भनेका छन्, 'भर्खरै अपरेशन सक्सेस भयो । यो खबर मेरो घरसम्म पुर्‍याइदिनू ।' अपरेशन सफल भएको खबर घरसम्म पुर्‍याइदिनु भन्दै उनले फोन नम्बरसमेत दिएका छन् । 
 
दंगीशरण गाउँपालिका–३ हेकुलीका उनी गत २६ भदौमा बीएस्सी एजीको प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका थिए । २२ वर्षीय डाँगीको खुट्टामा गोली लागेको थियो । अपरेशनपछि डाँगीका बुबा निमबहादुरसँग कुराकानीसमेत भएको वडाअध्यक्ष सुकलाल चौधरीले बताए । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  २ : ०८ बजे