दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दसैँमा सशस्त्र प्रहरी बलले नि:शुल्क बस सञ्चालन गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले नेपालीहरूको महान चाडपर्व बडादसैँ, तिहार र छठको अवसर पारेर बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी नि:शुल्क बस सञ्चालन गर्ने भएको छ ।

चाडपर्वको बेला घरविदा जाने सशस्त्र प्रहरी कर्मचारीहरूको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको नि:शुल्क बस सेवाले यस बर्ष पनि निरन्तरता पाउने भएको हो । यो वर्ष दुई वटा बस सञ्चालन गरिने बताइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ, भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।

बडादसैँको अवसरमा काँकडभिट्टाको लागि दिउँसो २ बजे र गड्डाचौकीको लागि विहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ गतेदेखि कात्तिक १२ गतेसम्म सेवा प्रदान गर्नेछ । त्यस्तै तिहार र छठ पर्वको अवसरमा सञ्चालन हुने बस समेत कात्तिक २४ गतेदेखि मंसिर ४ गतेसम्म सोही समयमा मुख्यालयबाट छुट्ने बरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए ।

चाडपर्वको बेला सशस्त्र प्रहरी बल नेपालका अन्य पायक पर्ने इकाईहरूमा समेत बस सञ्चालनको लागि समन्वय अधिकृतको व्यवस्था गरेको छ । यसभन्दा पहिला सशस्त्र प्रहरी बल, नेपालले बडादसैँको अवसरमा सर्वसाधारण यात्रुहरूको सुविधालाई ध्यानमा राखी काठमाडौं उपत्यका भित्र नि:शुल्क बस सेवा समेत प्रदान गर्दै आएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : ५३ बजे