काठमाडौँ । रिगल भनेर चिनिने गुन्डा नाइके योग ढकाललाई आम माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश डा मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।
रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । मानन्धरकी श्रीमती भारती मानन्धरले यही असोज १४ गते रिट दायर गरेकी थिइन् । विसं २०७२ सालमा नेपालगञ्जमा खुँडा हानी हत्या भएको थियो ।
अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर यही असोज ३ गते संविधान दिवसका अवसरमा उनलाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आम माफी दिएका थिए ।
उक्त निर्णयविरुद्ध भारती न्याय खोज्दै काठमाडौँमा आइपुगेकी छन् । अदालत धाउँदै उनी माइतीघर मण्डलामा अनसनसमेत बस्दै आएकी छन् ।
तारेख धाउने क्रममा बुधबार उनी सर्वोच्च अदालतमै बेहोस भएर ढलेकी थिइन् । उनलाई वीर अस्पताल पुर्याई उपचार गरिएको थियो । आज बिहीबार पनि उनी माइतीघरमा अनसन बस्न गएकी छन् ।
प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार १२ : ३१ बजे
प्रतिक्रिया