टिस्टा नदीमा आएको बाढीमा परी २३ भारतीय सैनिक बेपत्ता

काठमाडौं । सिक्किमको उत्तरी क्षेत्रमा अवस्थित ल्होनाक ताल फुट्दा टिस्टा नदीमा एक्कासि आएको बाढीले २३ भारतीय सैनिक बेपत्ता भएका छन् । २३ सैनिकका साथै अन्य सात जना पनि बाढीले बगाएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

बेपत्ताहरुको खोजी कार्य जारी रहेको भारतीय सेनाले जनाएको छ । बुधबार बिहान करिब साढे एक बजेको समयमा ताल फुटेर बाढी आएको जनाइएको छ । नदी किनार क्षेत्रमा रहेको भारतीय सेनाको शिविरलाई अचानक आएको बाढीले बगाएको थियो ।

नदीमा अचानक बाढी आएपछि चुंगथांगस्थित बाँधको ढोका खोल्नु परेको थियो । यसलगत्तै तल्लो क्षेत्रमा रहेको भूभाग डुबानमा परेको थियो भने सिंगताम क्षेत्रको बारदांगमा तैनाथ सेनाको ४१ सवारी साधन पनि बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नागरिकलाई सचेत रहन आग्रह गरेका छन् । बाढी प्रभावित क्षेत्रमा आपतकालीन उद्धार टोली परिचालन भइसकेको जानकारी दिँदै उनले प्रभावित क्षेत्र सिंगतामको अवलोकन भ्रमण गरेको जनाएका छन् । संयम कायम राख्न आग्रह गर्दै छिट्टै सामान्य अवस्थामा फर्किनेमा आशावादी रहेको जनाएका छन् ।

यस्तै, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ट्विट गर्दै सिक्किममा आएको बाढीले २३ सैनिक बेपत्ता भएको खबरले दुःखी बनाएको जनाएकी छन् । उनले राज्य सरकारकोतर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउँदै प्राकृतिक विपद्बाट बच्न पछिल्लो मौसमलाई ध्यानमा राख्दै अधिकतम सतर्कता अपनाउन सरोकारवाला सबै निकायलाई आग्रह गरेकी छन् । साथै कालिम्पोङ, दार्जिलिङ र जलपाईगुडी जिल्लाका प्राभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सार्न सबै कदम चालिएको जानकारी दिएकी छन् ।

ताल फुटेपछि टिस्टा नदीको जलस्तर अचानक १५ देखि २० फिट बढेको थियो । नदी किनार क्षेत्रका घरहरुसमेत डुबानमा परेका छन् भने मानिसहरु घर छाडेर सुरक्षित स्थानतर्फ भागेका छन् ।यस्तै सिक्किमको लाइफलाइनका रुपमा रहेको र धेरै ठाउँमा नदीको समानन्तर चल्ने राष्ट्रिय राजमार्ग एनएच १० पनि नराम्ररी प्रभावित भएको छ ।

यसअघि गत जुन १६ मा पनि सिक्किममा ताल फुट्दा अचानक बाढी आएको थियो । जसका कारण कयौँ मानिस प्रभावित भएका थिए ।

भारतीय मौसम विभागले अक्टुबर ४ र ५ तारिखमा पूर्वी तथा उत्तर पूर्वी राज्यहरुमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्कताका लागि सूचना जारी गरेको थियो । हिन्दुस्तान टाइम्सका अनुसार त्यस क्षेत्रका ६ वटा पुल बाढीले बगाएको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ५ : ४७ बजे