रिगललाई जेलमै राख्नुपर्ने भन्दै भारतीले सुरु गरिन् माइतीघर मण्डलामा अनसन

काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर छुटेका योगराज ढकाल (रिगल) विरुद्ध भारती मानन्धरले माइतीघर मण्डलामा आज बुधबार बिहानदेखि अनसन सुरु गरेकी छन् ।

आफ्ना पति चेतनको हत्या रिगलले गरेको तर सरकारले माफी दिएर उनलाई छुटाएको भन्दै रिगललाई जेलमै राख्नुपर्ने भारतीको अडान छ ।

भारतीले आफूले न्याय नपाएसम्म घर नफर्किने पनि बताएकी छन् ।

अनशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले न्याय नपाएसम्म संघर्ष जारी राख्छु र म मर्न तयार छु तर न्याय नपाएसम्म नफर्किने बताएकी छन् ।

रिगल विरुद्ध २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

रिगललाई जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

तर संविधान दिवस २०८० को अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए । उनी जेलबाट निस्कदा नेपाली कांग्रेस निकट युवा तथा विद्यार्थीले जेलमै पुगेर व्यापक स्वागत गरेका थिए जुन घटना निकै आलोचित भएको थियो ।

कैद मिनाहा दिने राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतनकी पत्नी भारती अनशन बसेकी हुन् । हत्यामा संलग्नलाई फेरि पनि जेल चलान गर्नुपर्ने आफ्नो माग रहेको उनले जानकारी दिइन् ।

रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भइसकेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ११ : ५८ बजे