बझाङ भूकम्प : धेरै घर र विद्यालय ढले,यस्ताे छ प्रारम्भिक क्षति

बझाङ । बझाङको सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर गएको दुई शक्तिशाली भूकम्पबाट बाजुराको सदरमुकाम मार्तडीस्थित घर तथा विद्यालयहरू पूर्ण रुपमा क्षति भएका छन् ।

भूकम्पले बाजुराको सदरमुकाम मार्तडीस्थित तीन घर, बुढीगंगा नगरपालिकाको एक विद्यालय,खप्तड क्षेडेदह गाउँपालिकाका पूर्व वडा अध्यक्ष हर्क रावतको  घर पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ । 

भूकम्पको केन्द्रबिन्दु रहेको बझाङको मस्टा गाउँपालिकाको तलकोटसंग जोडिएको गौमुल गाउँपालिकामा भएको क्षतिको विवरण आउन भने बाँकी छ । कुण्डा भेगका उत्तरपुर्वी क्षेत्रमा भने सामान्य झट्काले घर चर्केका छन् ।

मानवीय कुनै क्षति नभएको हिमाली गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष जोखबहादुर भण्डारीले बताए । 

मङ्गलवार दिउँसो २ः४०मा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको र ३ बजेर ७ मिनेट जाँदा बझाङको सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६‍.३ म्याग्नेच्युटको भूकम्प गएको थियो । क्षतिको यकिन विवरण भने आउन बाँकी छ । 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : ५१ बजे