देशको भविष्य : शिक्षा, भाषा, संस्कृति र प्रविधि

"शिक्षा, समय र प्रविधिले हाम्रो मानोविज्ञान र व्यवहारलाई विकास र परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। जसले हाम्रो भाषा र संस्कृतिको प्रयोगमाथि पनि प्रभाव पारिरहेको हुन्छ।" यो आजको यथार्थ हो। फेरि देशको भविष्य शिक्षाले अनि शिक्षाको भविष्य भाषा, संस्कृति र प्रविधिका कारणले प्रभावित भइरहेको हुन्छ। त्यसैले त डिजिटल विश्वमा हाम्रो शिक्षा कस्तो हुनुपर्छ भन्ने प्रश्नमा केन्द्रीत भएर नयाँ शिक्षा व्यवस्थाको विकासमा बहस चलाउनु पर्ने भएको छ।

भोलिको नेपाल नयाँ बनाउनका लागि आज शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्नुपर्छ। यथास्थितिमा सुधार वा परिमार्जनले नयाँ नेपाल बनाउनमा कुनै सहयोग गर्दैन्। यदि गर्ने थियो भने गएको ३० वर्षमा गरिएको सुधारले परिणाम देखाएको हुनुपर्थ्यो, तर कुनै परिवर्तन देखिएन। तथापि हामी अझै पनि यथास्थिति सुधार खोजेर रमाइरहेका छौं। सरकारको शिक्षा विधेयक र शिक्षक आन्दोलनले पनि यथास्थिति मै  सुधार खोजिरहेको छ। जबकि आजको आवश्यकता यथास्थितिमा सुधार होइन, आमूल परिवर्तन हो। तर दुःखका साथ भन्नुपर्छ, मुख्य सरोकारवालाहरू आमूल परिवर्तनको पक्षमा देखिएनन्।

यतिबेला हामीले "कसरी बन्छ, नयाँ नेपाल? नयाँ नेपाल बनाउने आधार र पूर्वाधार के के हुन्?" भन्ने प्रश्नहरूमा केन्द्रीत भएर शिक्षा व्यवस्थाको विकासमा योगदान दिन सक्नुपर्छ। हुन त शिक्षा व्यवस्थामा आमूल परिवर्तनसँगै प्रशासनिक, न्यायिक, आर्थिक र सामाजिक संरचनामा संरचनात्मक परिवर्तन गर्नैपर्ने परिस्थिति विकास भएको छ। त्यसैले हाम्रा प्रयासहरू नयाँ नेपाल बनाउने दृष्टिकोणबाट निर्देशित हुनुपर्छ। अब पनि विलम्ब गरियो भने देश ठूलो दुर्घटनामा पर्न सक्छ। तर राज्य सञ्चालकहरूलाई नयाँ शिक्षा व्यवस्थाको आवश्यकता, महत्त्व र फाईदा थाहा नै नभएको सरकारले ल्याएको शिक्षा विधेयकले प्रमाणित गरेको छ।  उनीहरू बाह्य शक्ति र शैक्षिक माफियाको निर्देशन र दबावमा शिक्षा ऐन ल्याएर देश ध्वस्त बनाउन उद्दत देखिन्छन्। अन्यथा नयाँ नेपाल बनाउने कोणबाट शिक्षा विधेयक ल्याउने थिए।

शिक्षाले हामीमा भावना र सम्भावनाबीच सन्तुलन मिलाउन सक्ने क्षमता विकास गर्न सक्नुपर्छ। अन्यथा जनता भ्रमित सूचनाको जगमा भावनात्मक रूपमा भड्किने अवस्था बनिरहन्छ। "एउटा गलत कदमले हाम्रा सपनाहरूलाई नष्ट गर्न सक्छ। यसर्थ बुद्धिमानीपूर्वक कदम चाल्नुपर्छ।" आजको समय र क्षमता भोलिको नेपाल राम्रो बनाउनका लागि प्रयोग गर्नुपर्छ। हामीले गुणस्तरीय शिक्षाको माध्यमबाट देश र विश्वको शान्तिपूर्ण समृद्ध भविष्यका लागि हाम्रा युवा दिमागलाई सशक्त बनाउनु पर्छ।

राम्रो शिक्षा र सही जानकारीले मात्र जनताको मनबाट भ्रमहरूलाई हटाउँछ। तर स्पष्ट रूपमा परिभाषित लक्ष्य र उद्देश्य बिनाको शिक्षा सधैं समस्याग्रस्त हुन्छ। हामीले गुणस्तरीय शिक्षाको माध्यमबाट देश र विश्वको शान्तिपूर्ण समृद्ध भविष्यका लागि हाम्रा युवा दिमागलाई सशक्त बनाउनु पर्छ। गलत शिक्षा प्रणालीले मानिसमा सधैं भ्रम, अन्तरविरोध र द्वन्द्व सिर्जना गर्छ, जुन समाज, राष्ट्र र विश्वमा द्वन्द्वको मुख्य कारण बनेको छ।

तेस्रो विश्वका देशहरूमा शिक्षा प्रणालीको मुख्य समस्याहरू;

  • पाठ्यक्रमको उपनिवेशीकरण
  • दाताहरूको नेतृत्वमा नीति र कार्यक्रमहरू
  • अपर्याप्त लगानी
  • निशुल्क शिक्षाको नारा
  • अंग्रेजी भाषाको बढ्दो प्रभुत्व
  • शिक्षामा अन्तर्राष्ट्रिय अनुदानमार्फत सांस्कृतिक अतिक्रमण
  • कमजोर गुणस्तरका शिक्षकहरू
  • कमजोर पूर्वाधार र व्यवस्थापन
  • प्रणाली सुधार गर्न राजनीतिक इच्छाशक्तिको अभाव
  • नकारात्मक कथा-भाष्यहरूको प्रभाव

गएको शिक्षा दिवसलाई लिएर यो लेखकले भनेको थियो, "असल शिक्षकहरूले कुनै पनि भेदभाव बिना सबै विद्यार्थीहरूलाई सिकाउँछन् र सक्षम बनाउँछन् अनि बलियो नेतृत्वले अरूलाई कमजोर बनाउन खोज्दैन्। बरू उनीहरूले तिनीहरूलाई राष्ट्रको दिर्घकालिन हितका लागि माथि उठाउँछन्। शिक्षा प्रणाली र राजनीतिमा औपनिवेशिकताबाट रोक्नका लागि आवाज उठाउँदै आफ्ना क्षमताहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्छन्।"

भारतको शिक्षा व्यवस्थाबाट प्रभावित हाम्रो शिक्षा व्यवस्थाले नेपालको स्वार्थ बलियो बनाउन सहयोग गर्दैन् किनभने भारतको शिक्षा व्यवस्था म्याकुल्ले सिद्धान्तबाट निर्देशित छ। जसले भारतीयहरूको मनोविज्ञान झैं हामी नेपालीको मनोविज्ञान पनि उपनिवेशवादबाट प्रभावित भइरहेको छ। त्यसैले हाम्रो शिक्षा व्यवस्थामा आमूल परिवर्तन अनिवार्य भइसकेको छ। तर शिक्षा विधेयेकले नयाँ विधेयक र शिक्षक आन्दोलनले नयाँ दृष्टिकोण दिन सकेको देखिएन।

शिक्षा दिवसको अवसरमा हामीले नारामात्र तय गरेर मात्र हुँदैन्, नारालाई व्यवहारमा उतार्ने नीति र नियत पनि हुनुपर्छ। त्यसैले राष्ट्रिय शिक्षा दिवसको नारा “समावेशी र सीपमूलक शिक्षाः स्वदेश मै युवा राष्ट्रको इच्छा” लाई साकार बनाउन शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्ने दृष्टिकोणका साथ नयाँ शिक्षा विधेयक ल्याउन सक्नुपर्थ्यो। तर सरकारले ल्याएको शिक्षा विधेयकले राष्ट्रको चाहाना र आवश्यकता विपरीतका नीति र नियतलाई यथास्थितिमा निरन्तरता दिन खोजेको देखिन्छ।

सरकारले शिक्षा विधेयक तयार गर्दा विज्ञ तथा सरोकारवालाहरूको दृष्टिकोण सामेल गर्न चाहेन किनभने सरोकारवालाहरू सहभागी तथा संलग्न हुँदा राष्ट्र र सरोकारवालाहरूको स्वार्थ बलियो हुन्थ्यो। त्यसैले सिके राउतले भनाईले यसलाई आंशिक पुष्टी गर्छ। राउतले भन्छन्, “शिक्षा ऐन कमर्चारीले लेख्छ। त्यहाँ न शिक्षक सहभागी हुन्छ, न विद्यालय हुन्छ, न अभिभावक हुन्छ। अनि कसरी त्यो ऐन शिक्षक, विद्यालय र अभिभावकको हितमा हुन्छ।“ यतिखेर शिक्षा विधेयकले सबैका लागि गुणस्तरीय शिक्षा सर्वसुलभ र सुनिश्चित गर्नका लागि आधार तयार गर्न सक्नुपर्छ।

  • यसर्थ शिक्षा विधेयकले
  • शैक्षिक माफियाहरू निरूत्साहित हुनुपर्छ।
  • सार्वजनिक शिक्षाप्रति विद्यार्थी र अभिभावकको विश्वास बढाउनु पर्छ।
  • भाषा, संस्कृति र मौलिक विश्वासहरूको प्रयोग गर्न सघाउनु पर्छ।
  • शिक्षामा लगानी बढाएर प्रविधिहरूको उपयोग गर्ने वातावरण बनाउनु पर्छ।

शिक्षा विधेयकलाई लिएर शिक्षकहरूले आन्दोलन गरे र सरकारले आन्दोलनका मागहरू सम्बोधन गर्छु भनेर सहमति पनि गर्यो। यद्दपि राहत लगायतका शिक्षक मईतिघरमै आन्दोलन गरिरहेका छन्। तर न शिक्षकले न त सरकारले नै सार्वजनिक शिक्षा स्तरीय बनाउँछौं भनेर कुनै प्रतिबद्धता जनाएनन् किनभने उनीहरूमा देश समृद्ध बनाउने न कुनै संकल्प थियो न त कुनै नीति र नियत। सम्झौतामा  विद्यार्थी, विद्यालय र देश केन्द्रमा परेन। शिक्षक आन्दोलन र सरकारसँगको सम्झौतालाई लिएर सामाजिक सञ्जालमा कृष्ण घिमिरे लेख्छन्, “शिक्षक आन्दोलन सहमति र उपलब्धी- शिक्षकका हक हित मात्र। स्कूलको अधोगति, पठन पाठनको स्तर, शिक्षा पद्धति, पाठ्यक्रम, परीक्षा प्रणाली र शिक्षालाई संविधानतः नेपालीको आधारभूत अधिकार बनाउने मूल विषय न शिक्षकका चासो न सरकारको। शिक्षा र स्वास्थ्य सेवाको माफियाकरण भएसम्म हामी कतै पुग्दैनौं।“

शिक्षक आन्दोलनले शिक्षा व्यवस्थाको समस्या र आफ्ना कमजोरीहरू देखेन, सिकाइ उपलब्धी राम्रो बनाउने भनेन र शैक्षिक माफियाको चलखेल पनि हेरेन किनभने शिक्षक आन्दोलन राष्ट्रिय स्वार्थ बलियो बनाउने दृष्टिकोणबाट भएको थिएन। शैक्षिक गुणस्तर अंक अर्थात जिपिए वा ग्रेड होइन भनेर शैक्षिक गुणस्तरमाथि जबरजस्त प्रश्न उठाउनुका साथै सार्वजनिक शिक्षामा शिक्षकमाथि राज्यले गरेको लगानी होस् कि अभिभावकको शिक्षामाथिको लगानी खेर गइरहेको निष्कर्षमा पुग्न सकिन्छ। यतिबेला हामीले शिक्षाको दार्शनिक पक्ष र राष्ट्रिय उद्देश्यमा केन्द्रीत भएर परदेशिन सिकाउने अनि उतैको नागरिक बन्न प्रेरित गर्ने शिक्षाको विकल्पमा नयाँ शिक्षा व्यवस्थाको विकासमा आवाज उठाउनु पर्ने भएको छ।

त्यसैले हाम्रो शिक्षाको भविष्य राम्रो बनाउनका लागि हामीले निम्न पक्षहरूलाई विशेष ख्याल गरेर नयाँ शिक्षा व्यवस्थाको विकास गर्नुपर्छ।

  • शिक्षाको दर्शन, राष्ट्रिय उद्देश्य र लक्ष्य
  • पाठ्यक्रमको राष्ट्रिय प्रारूप
  • शिक्षकको प्रवृत्ति र गुणस्तर (सञ्चार सिप, निरन्तर सिक्ने र सिकाउने, धैर्यतापूर्वक सक्रिय भइरहने, सहानुभूति देखाउन सक्ने र वास्तविक विश्वमा सिकाइको मूल्य बुझेको आदि)
  • सूचना तथा प्रविधिको क्षेत्रमा आएको परिवर्तन (तथ्यांक, इन्टरननेट र कृतिम बुद्धिमत्ता)
  • सामाजिक – भावनात्मक सिकाइ (भाषा, संस्कृति अनि विश्वास र अभ्यासहरू)
  • व्यावसायिक सिप विकास र प्रयोग (मौलिक ज्ञान, विज्ञान र सिपसँगै नयाँ ज्ञान, विज्ञान र सिप)
  • सामाजिक प्रभाव र विश्वव्यापी जागरूकता
  • विभिन्न विधामा संलग्न वा दक्षता भएका विद्यार्थीहरूको वैयक्तिक इच्छाको सम्बोधन
  • पर्यावरण र परिस्थितिजन्य जागरूकतासहित सामूहिक बुद्धिहरूको प्रयोग गर्ने व्यवस्था
  • समग्र मूल्यांकन प्रणाली

अनिमात्र सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिन्छ। सार्वजनिक शिक्षाप्रति समुदायको विश्वास बढ्छ र सहभागिता पनि योगदानमूलक हुन्छ। शिक्षालयको उत्पादन देशलाई माया गर्ने र आफ्नो पहिचानप्रति गर्वका साथ प्रस्तुत हुने र देशको प्रगतिमा आफ्ना क्षमताहरूको प्रयोगमा रमाउँछन्। यो नै समृद्ध नेपाल बनाउने बलियो आधार हुनेछ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ३ : ५५ बजे