राष्ट्रपतिमाथि चेतन पत्नी भारतीको आक्रोश : हत्यारालाई आममाफी दिने तपाईं पनि हत्यारा नै हो

काठमाडौँ । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा १२ वर्ष सजाय काट्न बाँकी रहँदै दोषी रिगल भनिने योगराज ढकाललाई आममाफी दिएको प्रति चेतनपत्नी भारती मानन्धरले आममाफीको अधिकार कसले दियो भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले अगाडी भन्नुभयो ‘‘राष्ट्रपतिलाई परेको भए थाहा हुन्थ्यो सिन्दूरको मूल्य, कसैले आफ्नो जीवन गुमाएको छ, कसैले आफ्नो छोरा गुमाएको छ, कसैले बुबा गुमाएको छ । आजसम्म पनि हामी त्यो घटनाबाट निस्कन सकेको छैनौँ ।’

‘‘मलाई सरकार र देशको कानुनमाथि विश्वास थियो । एउटा हत्यारालाई मन्त्री जसरी सम्मानका साथ कारागारबाट निकालियो । यही हो नेपालको कानुन ? उहाँले प्रश्न गर्दै भन्नुभयो ‘हत्यारालाई साथ सपोर्ट गर्ने पनि हत्यारा नै हो । यहि मेरो ठाउँमा राष्ट्रपति वा प्रधानमन्त्रीको छोरी भएको भए आममाफी दिनुहुन्थो कि जेलमा राख्नुहुन्थो ?’

अब न्यायका लागि लड्ने जानकारी गराउँदै बुधबारबाट माईतीघर मण्डलामा अनसन बस्ने उहाँले बताउनुभयो । हत्यारालाई आममाफी दिएपछि पीडित परिवार आतंकित भएको भन्दै उहाँले भन्नुभयो ‘के कानुन मरेको हो ?’

संविधान दिवसको दिन हत्याका मुख्य योजनाकार मानिएका रिगललाई राष्ट्रपतिले आम माफी दिनु भएको थियो । २८ असार २०७२ मा रिगलले चेतनलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा हत्या गरेका थिए । रिगल पक्राउ परेपछि हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दे सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

राष्ट्रपतिबाट आममाफी पाएपछि हत्याका मुख्य योजनाकार मानिएका रिगल भनिने योगराज ढकालको अबिर जात्रा।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : ०१ बजे