थप ५७ वटा हिमाल आरोहणका लागि खुला

कान्तिपुरका पत्रकार कानुनी लडाइँमा उत्रिँदै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले त्यहाँ कार्यरत श्रमजीवी ६८ जना पत्रकारहरूलाई इमेलमार्फत अवकाश पत्र पठाएपछि त्यसविरुद्ध उनीहरू कानुनी लडाइँमा लागेका छन् । 

कान्तिपुरले लामो समयदेखि काम गर्दै आएका स्थायी पत्रकारहरूलाई समेत अचानक निकालेको छ। अहिले उनीहरू न्यायको लागि नेपाल पत्रकार महासङ्घमा पुगिसकेका छन्।

उनीहरू आज (सोमबार) सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई भेट्न समेत गएका छन्। उनीहरूले यसमा सञ्चारमन्त्री रेखा शर्माको ध्यानाकर्षण गराएका छन्। 

कान्तिपुरको उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीसमेत पत्रकारहरूले गरेका छन्। नेपाल पत्रकार महासङ्घले पनि दसैँको मुखमा श्रमजीवी पत्रकारहरूलाई कानुनविपरीत निकालेको भन्दै आपत्ति जनाएको छ।

कान्तिपुरको उक्त कदमप्रति उनीहरूले घोर विरोध गरेका छन्।  ‘कान्तिपुरले हामीलाई पहिलादेखि नै निकाल्ने दबाब चालेको थियो, अन्ततः केही समयअघि अवकाश पत्र थमाइदिए, हामी अन्यायमा परेका छौँ, जो जो पीडित छौँ, चुप बस्दैनौँ, कडा आन्दोलन गर्छौँ, कानुनी लडाइँ लड्छौँ,’ एक पीडित पत्रकारले भने।

महासङ्घले पत्रकार महासङ्घ कान्तिपुर प्रतिष्ठान शाखाले त्यहाँको व्यवस्थापनसमक्ष राखेका मागहरूप्रति महासङ्घ पूर्ण समर्थन र ऐक्यबद्धता प्रकट गर्दै प्रतिष्ठान शाखाको माग र आग्रहलाई बेवास्ता गरिए कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ।

आइतबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गरेकोप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ, व्यावसायिक पत्रकारिताको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उक्त ग्रुपले प्रचलित कानुन, विधि र पद्धतिविपरीत गरेको यो कार्यको महासङ्घ कडा शब्दमा विरोध गर्दछ।’

महासङ्घले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने र भविष्यमा चाल्न सक्ने कदमलाई समेत दृष्टिगत गरी सरकार र जननिर्वाचित प्रतिनिधिहरूको संस्था संसद्‌को समेत ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ४ : ३९ बजे