सुनको मूल्यमा नयाँ कीर्तिमान

अमेरिका जान इजरायलका नागरिकले अब भिसा लिनु नपर्ने

काठमाडाैँ । अमेरिकाले इजरायलीलाई भिसा प्रवेशाज्ञा बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ ।

आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजरायली नागरिकलाई तीन महिनासम्म अमेरिकामा बस्ने अनुमति प्राप्त हुनेछ ।

तर, निजले अमेरिका प्रवेश गर्नुअगावै आफ्नो भ्रमणको अभिलेख अध्यागमन विभागमा दर्ता गराउनुपर्नेछ । 

‘असामाजिक एवं गैरकानुनी गतिविधि गर्न सक्ने ठानेर अमेरिकी अध्यागमन अधिकारीले निजलाई प्रवेशमा रोकसमेत लगाउन सक्नेछ,’ अध्यागमन अधिकारीलाई दिइएको अधिकारको एक बुँदामा भनिएको छ ।

होमल्याण्ड सेक्युरिटीले निर्धारण गरेका पूर्वसर्तको पालना नभएमा इजरायलीले प्रवेशाज्ञा भिसा पाउने छैनन् । 

बाइडेन प्रशासनको यो घोषणाबाट इजरायलले अमेरिकामा प्रतिष्ठित स्थान प्राप्त गरेको छ ।

संसारका एक सय ९३ भन्दा बढी मुलुकमध्ये करिब ४० देशलाई मात्र अमेरिकाले ‘भिसा लिनुनपर्ने’ सुविधा र सम्मान दिएको छ । बाइडेन प्रशासनले वासिङ्टन, जेरुसेलम र रियादबीच चलिरहेको त्रिदेशीय वार्ताको परिणामका रूपमा पनि लिइएको छ ।

अब इजरायलले  प्यालेस्टिनीहरूसँग राम्रो व्यवहार गर्ने अपेक्षा गरिएको छभने इजरायलमा साउदी लगानी बढ्ने आशा गरिएको छ ।

अमेरिकी मध्यस्थतामा साउदी र इजरायलबीचको सम्बन्ध सामान्य बन्दै गएको छ । गत साता साउदी अरबको एउटा उच्चस्तरीय टोली प्यालेष्टिनी क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको थियो । 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : १४ बजे